१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023

गन्धर्व बस्तीका बासिन्दा भन्छन्– कहिलेसम्म खोलाको पानी खाने ?



दाङ ।
घोराही उपमहानगरपालिका–११ नयाँबस्तीकी कमला गन्धर्व अहिले ४३ वर्षकी भइन् । उनी त्यही बस्तीमा जन्मिएर त्यहीँ हुर्किइन् । उनको घर पनि त्यहीँ र माइत पनि त्यहीँ हो । बाल्यावस्थादेखि साँझबिहान खोलाको पानी बोक्नुपर्ने बाध्यता झेलेकी उनी अहिले पनि त्यही बाध्यता झेल्दैछिन् ।

गाउँमा खानेपानीको सुविधा नहुँदा कमलामात्रै होइन, नयाँबस्तीका ८५ घरधुरी पुस्तौँदेखि खोलाको पानीले बाँचिरहेका छन् । कमलाले भनिन्, ‘खोलाकै पानी खान्छौं, खोलाकै पानीले बाँचेका छौं । खोलाको पानी बोक्नु र खानुपर्ने बाध्यताले हामीलाई अझै छोडेन ।’

नयाँबस्ती अर्थात् गन्धर्व बस्तीमा २०२७ सालमा ३ घर परिवारको बसोबास थियो । अहिले ८५ घरधुरी गन्धर्व यो बस्तीमा छन् । बस्तीमा खानेपानीको प्रवन्ध नहुँदा यहाँका बासिन्दा खोलाको पानी ल्याएर गुजारा चलाउँछन् ।

कमलाले भनिन्, ‘हाम्रा बाजेको जीवन यही खोलाकै पानी खाएर बित्यो, हाम्रो जीवन पनि खोलाकै पानी खाएर जाने भयो ।’

भौगोलिक हिसाबले गन्धर्व बस्ती सुगम क्षेत्रमा पर्दछ । तर खानेपानीको समस्या वर्षौँदेखि कायम छ । खानेपानीको अभाव झेल्दै आइरहेका गन्धर्भ बस्तीका बासिन्दामा खडेरी सुरु भएसँगै पानीको चिन्ता बढेको छ ।

उनले भनिन्, ‘बर्खा याममा खोलाको पानीले बिमार पार्छ । गाईबस्तु र मान्छेले खाने त्यही खोलाकै पानी हो । कहिलेसम्म खोलाको पानी खाने ?’

गन्धर्व बस्ती रोग, भोक र शोकले ग्रसित छ । बस्तीको चुलो बाल्न दिनभर सारङ्गी बोकी गाउँ चाहार्नु पर्ने या अरुको ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ । बस्तीका बारीमा एक मुठी धनियाँसमेत उब्जनी हुँदैन ।

खानेपानीको हाहाकार रहेको यो बस्तीमा खेतीका लागि पानी उपलब्ध हुनु अझ परकै सपना हो । गन्धर्व बस्तीका बासिन्दाहरु बर्खा र खडेरी लागे खोलाको पानी पनि प्यास मेट्ने गरी पिउन पाउँदैनन् । स्थानीय डाइबर गन्धर्वले भने, ‘बर्खा लागे खोलामा खनेको जरुवा बाढीले पुर्छ, गर्मी सुरु भए खोला सुक्छ । गर्मी सुरु भयो, अब पानी खोज्दै खोला चहार्नुपर्ने बाध्यता आउँछ ।’

बस्तीमाथि रित्तो ट्याङ्की, घरघरमा पानी बिनाको पाइप

गन्धर्व बस्तीमा खानेपानी पुर्‍याउनका लागि घोराही उपमहानगरपालिकाले बस्तीको उत्तरतिर ४५ हजार लिटर क्षमताको एउटा ट्याङ्की निर्माण थालनी गरेको अहिले ५ वर्ष पूरा भयो । जसमा उपमहानगरपालिकाले ३३ लाख खर्च गरिसकेको छ ।

तर, हालसम्म खानेपानी ट्याङ्की अलपत्र परेको छ । ट्याङ्की निर्माण थालनीसँगै बस्तीका घरघरमा खानेपानी पाइपसमेत स्थानीयले जोहो गरिसकेका छन् । तर अहिलेसम्म न ट्याङ्की निर्माणको काम सकिएको छ, न त पाइपमा पानी आउँछ ।

खानेपानी योजना अलपत्र परेको सुनाउँदै डाइबरले भने, ‘खोलाको पानी खान लागेको बस्ती बसेदेखि नै हो, खानेपानी योजनाको काम सुरु भएको ५ वर्ष भयो । अझै उस्तै छ ।’

खानेपानी योजना निर्माण सम्पन्न होला र बस्तीको पीडा मेटिएला भन्ने आशमा रहेका बासिन्दा उक्त योजना अलपत्र परेपछि निराश देखिन्छन् ।

जहिल्यै पानीकै आश

खानेपानी अभावको पीडा झेलेका बासिन्दा अलपत्र खानेपानी योजना निर्माणका लागि ५ वर्षदेखि स्थानीय सरकारदेखि विभिन्न कार्यालयमा धाइरहेका छन् । तर योजना निर्माणको काम र धारामा पानी झर्ने कुरा आश्वासनमै सीमित रहेको बस्तीका बासिन्दाहरुको भनाइ छ ।

वडाध्यक्षदेखि मेयरसम्म, नेतादेखि मन्त्रीसम्मले पनि बस्तीमा खानेपानी योजनाको काम अब पूरा हुन्छ र पानी आउँछ मात्रै भन्दै आश्वासन बाँड्दै आइरहेको स्थानीय हेमराज गन्धर्व बताउँछन् । उनले भने, ‘चुनावमा पानी आउँछ भन्दै भोट माग्न आए, चुनावपछि पानी आउँछ भने, अहिलेसम्म आएन, अब आउँछ भन्छन् तर कहिले आउँदैन ।’ -रातोपाटीबाट

प्रकाशित मिति : ५ चैत्र २०७९ आइतबार ००:००  ६ : ४२ बजे