१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुशील खत्रीले दिए एमालेबाट राजीनामा, साधारण सदस्य समेत नरहने



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमालेका युवा नेता सुशील खत्रीले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामाको घोषणा गरेका छन् ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले हार व्यहोरेको थियो ।

सोही हारको जिम्मेवारी लिदै खत्रीले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।

वि.सं. २०७३ सालमा सिद्धार्थ क्याम्पसको स्ववियु सभापति भएका खत्री अनेरास्ववियुमा एक दशक देखि सक्रिय थिए ।

उनले एमाले जिल्ला पार्टीलाई बोद्धार्थ देख्दै राजीनामा दिएका हुन् ।
यस्तो छ राजीनामा पत्र

राजीनामा सम्बन्धमा
०७९ चैत ६, सोमबार
विगत एक दशक विद्यार्थी जीवनदेखि हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको राजनीतिक गतिविधिमा क्रियाशिल रहेको यहाँहरुलाई अवगत नै छ । आजका मितिसम्म म मेरो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी जीवनको स्वार्थको लागि निष्फ्रिका साथ निडर भएर लागि रहेकै थिएँ । आजसम्म पार्टीलाई आवश्यक पर्ने जुनसुकै ठाउँमा म जिउज्यान लगाएर लागेको हुँ । मेरो यही मिहिनेत र लगावकै कारण वि.सं. २०७३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पार्टीले मलाई सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुमा सभापति पदको लागि उम्मेदवार बनायो र संगठनको विरासत कायम राख्दै मैले शानदार जित पनि हासिल गरेको थिएँ । त्यसपछि म सदैव विद्यार्थीको हक र अधिकारको लागि लागि नै रहेँ । तर चैत ५ गते भएको स्ववियु चुनावमा सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुले नसोचेको पराजय भोग्यो र यो पराजयले म निकै दुखित छु । संगठनले वि.सं.२०४८ सालदेखि कायम गरेको विरासत ढल्दा म जस्तै सिंगो पार्टी पङ्क्ति दुखित भएको हुनुपर्दछ । उसो त संगठनलाई जिताउन मैले मिहिनेत गर्दा गर्दै पनि हारको विषयमा अनेक आरोप लगाइएको छ । म माथि लगाइएका आरोपहरु सबै झुटा हुन् । यति हुँदा हुँदा पनि पार्टीलाई कुनै आरोप नलगाई स्ववियुमा संगठन हारेको, स्ववियु सभापतिले खेल्नुपर्ने भूमिका खेल्न नसकेको लगायतका कुरा सहर्ष स्विकार गर्दछु । पार्टीप्रति आगाध, माया, स्नेह र लगाव हुँदाहुँदै पनि स्ववियु चुनावमा भएको संगठनको सबै हारको जिम्मा लिँदै अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिन बाध्य भएको जानकारी गराउँदछु ।

बोद्धार्थ
नेकपा (एमाले), जिल्ला कमिटी कपिलवस्तु

       क. सुशील खत्री
साधारण सदस्य, नेकपा (एमाले) कपिलवस्तु 

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ७ : ४७ बजे