६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

जातीय छुवाछुत तथा भेदभावमुक्त समाज आजको आवश्यकताः मेयर कलाम



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम मुसलमानले जातीय छुवाछुत तथा भेदभावमुक्त समाज आजको आवश्यकता भएको बताएका छन् ।

सम्बन्धित सबै निकायलाई भेदभावरहित वातावरणको सुनिश्चिता गर्न अपिल गर्दै उनले भने, ‘२१औं शताब्दिमा पनि जातीय विभेदका घटनाहरु बाहिर आउन् गरेका छन्, यो राम्रो होइन । जातीय छुवाछुत तथा भेदभावमुक्त समाज आजको आवश्यक हो ।’

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा बुद्धभूमि २ गोरुसिंगेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कलामले यस्तो बताएका हुन् ।

संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विद्यमान अवस्थामा पनि जातीय विभेद रहेको उनको भनाई छ ।

बुद्धभूमि उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले तुलनात्मक रुपमा पहिले भन्दा अहिले जातीय छुवाछुतका घटनामा कमी आएको बताए । उनले दलित भित्रै पनि एक अर्काको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्ति देखिएको बताए । उनले यस्तो प्रवृत्तिले जातीय विभेद उन्मुलन गर्ने सवालमा थप समस्या सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरे ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले जातीय छुवाछुत तथा भेदभावमुक्त समाज निर्माणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । दलित र गैरदलित बीचको सहकार्यले मात्र जातीय विभेद उन्मुलन सम्भव हुने उनको भनाई छ । क्रमिक रुपमा छुवाछुत तथा भेदभावका घटनामा कमि आउनु सकारात्मक पक्ष भएको बताउँदै उनले वर्तमान अवस्थामा भेवभावको स्वरुप बदलिएको जिकीर गरे ।

बुद्धभूमि नगरपालिका ४ का वडाध्यक्ष सुशील कुमार चौधरी, कार्यपालिका सदस्य तारादेवी सुनार लगायतले छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन आह्वान गरेका थिए ।

ग्रामीण स्वालम्बन विकास केन्द्र कपिलवस्तुका सचिव रामदेव पासीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । सो क्रममा उनले दलितहरुको विद्यमान अवस्था, समस्या, चुनौति लगायतका बारेमा चर्चा गरेका थिए ।

अम्मर विकको संचालनमा सम्पन्न उक्त कार्यक्रममा दलित क्षेत्रका अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

ग्रामीण स्वालम्बन विकास केन्द्र कपिलवस्तु, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तु र आशा संजाल बुद्धभूमिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम संचालन गर्न बुद्धभूमि नगरपालिकाले सहयोग गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७९ बुधबार ००:००  ७ : ३६ बजे