१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भानुभक्त ढकालको दावीः वामपंथी आन्दोलनको नेतृत्व एमालेले गर्छ



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् मोर्चा संयन्त्रका संयोजक भानुभक्त ढकालले वाम आन्दोलनको मूल नेतृत्व एमालेबाट मात्र संभव रहेको दावी गरेका छन् ।

नेता ढकालले अन्य वामपंथी राजनैतिक दल नेपाली कांग्रेसका सहयोगी पार्टीका रुपमा मात्र काम गरेको चर्चा गर्दै नेपाली वामपंथी आन्दोलनको नेतृत्व एमालेको विकल्प नरहेको जिकिर गरे ।

नेकपा (एमाले) ले संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान २०७९ अन्तर्गत कपिलवस्तु नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेता ढकालले सामुहिक ढंगले सेवा भावबाट राजनैतिक आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

स्थायी कमिटी सदस्य ढकालले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने काम एमालेबाट मात्र संभव रहेको जिकिर गरे । युवा नेता ढकालले नेकपा (एमाले) विगतको एमाले नभई नेकपाको निरन्तरताको नेकपा (एमाले) रहेको स्पष्ट पारे ।

सोही नगर स्तरीय कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले विगतमा नेताका कुरा जनताले सुन्ने गरेको जिकिर गर्दै यस पटकको मिसन ग्रासरुट अभियान मार्फत जनताका कुरा, जनताका समस्या जनताकै घर आगनमै नेताले सुन्ने अभियानका रुपमा मिसन ग्रासरुट अभियान संचालन गरेको बताए ।

स्थायी कमिटी सदस्य डा. भट्टराईले पार्टी भित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रुपमा समेत अभियान संचालन हुने दावी गरे । अभिमुखीकरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानका क्रममा प्राप्त जनताका समस्यालाई पार्टीले एकीकृत योजना मार्फत समाधान खोज्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, नेकपा (एमाले) का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, सजिदा सिद्धिकीको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा एमाले नेताहरु झविलाल पोख्रेल, कृष्ण पौडेल, दान वहादुर चौधरी, शान्तिदेवी चमार, भानुप्रकाश श्रेष्ठ, जंजिर प्रसाद चौधरी लगायतका नेता कार्यकर्ताको आतिथ्यता रहेको अभिमुखीकरण कार्यक्रम नगर उपाध्यक्ष ओसिम मुसलवानको अध्यक्षता, नगर उप-सचिव अर्जुन चौधरीको स्वागत मन्तब्य र नगर उप-सचिव रुकैया खातुनको संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ५ : २२ बजे