१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुखको क्यान्सरले थलिएका बाणगंगाका भरत, आफूसक्दो सहयोगको याचना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ४ हरिहरपुरका भरत नेपाली क्यान्सर रोगले थलिएका छन् । मुखको क्यान्सरले च्याप्दै जादा भरतको मुखनै कुहिने अवस्थामा पुगेको छ ।

मुखमा लागेको क्यान्सर हेर्न सक्ने स्थिति छैन् । क्यान्सरको चरम पीडामा छटपटिएका भरतलाई औषधि उपचारका लागि आर्थिक अभाव छ ।

४२ बर्षीय श्रीमानलाई रकम अभावकै कारण औषधि उपचार गर्न नसकिएको श्रीमती माया नेपालीले गहभरी आँशु राख्दै मायादेवी अनलाइनसंग बताइन् ।

माघ महिना देखि भरत क्यान्सरले थलिएका हुन् । भनेजस्ते औषधि उपचार हुन नसक्दा दिनप्रतिदिन उनलाई रोगले च्याप्दै लगेको छ । उनी रकम अभावै कारण मृत्युको दोसाधमा परेका छन् ।

क्यान्सरको चरम पीडा भोगेका भरतको घाउँ देख्ने कतिपय मुर्छित जस्तै बन्ने गरेका छन् । आँखै अगाडी देखिने कुहिएको घाउ देख्न नसक्ने अवस्थामा छ । मंगलबार मात्र घाउबाट झण्डै एक सय कीरा झारेको श्रीमती मायाले बताइन् ।

उपचारका लागि कहीकतैबाट आर्थिक जोह हुन नसकेपछि घरपरिवार र गाउँलेहरुले सन्चार माध्यम समक्ष आफ्नो पीडा राख्दै सहयोगको याचना गरेका छन् । आफू सक्दो सहयोग गरी भरतको प्राण बचाई दिन घरपरिवारले अपील गरेका हुन्।

भएको सबै रकम भरतको उपचारमा सकाएका छन् । अब कहीबाट रकम जुट्न सक्ने अवस्था नभए पछि सञ्चारमाध्यम गुहार्न बाध्य भएको गाउँलेहरुले बाध्यता सुनाएका छन् ।

लामो समय भारत बसेका भरत माघ महिनामा मात्र घर आएका थिए । घरमा आउँदा क्यान्सर लागिसकेको र तत्काल चितवनस्थित विपि कोइराला क्यान्सर अस्पताल लगिएको घरपरिवारले बताएका छन् । एकपटक किमो समेत चढाएर घाउँ सुकेको र पछि अस्पताल जान रकम अभाव भएको श्रीमती नेपालीले दुखेसो पोखिन ।

उनको सम्पत्तिको नाममा आफू बस्ने घर मात्र छ । छोरा छोरी गरी दुई सन्तान रहेका भरतका १७ बर्षीय छोरा छन् । कक्षा १२ मा पढ्ने उनी बुवाको स्थिति देखेपछि पढाई छाडि मजदुरी गर्न बाध्य भएका छन् । सानो उमेरको छोराले कमाएको रकमले केहीँ हुने स्थिति छैन् । छोरीको भने विवाह भइसकेको छ ।

भरतको घरमा ७० बर्षीया वृद्ध आमा छिन् । छोराको दयनिय अवस्था देखेर आमा रातदिन चिन्तामा छिन् ।

आजसम्म थुप्रै रोग देखि पनि भरतको जस्तो दर्दनाक स्थिति नदेखेको गाउँले बताउँछन् । आँखै अगाडी मुखै कुहिने अवस्था भएको र त्यसमा कीरा फाल्ने बाध्यता आउँनु मानवीय पीडाको चरम रुप हो ।

आफू सक्दो सहयोग गरी भरतको ज्यान बचाइदिन घरपरिवार र गाउँलेहरुले सबैलाई अपील गरेका छन् ।

सहयोग गर्न चाहनेले निम्न नम्बरमा सम्पर्क गर्नुहोला ।
९८०६९९०७१५, ९८५७०५२२१६

बैंक खाता
गरिमा विकास बैंक, जितपुर कपिलवस्तु शाखा
०११०१३००९७८७७८०००००१

क्यान्सर पीडित भरत नेपाली ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ७ : ५० बजे