८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

फोहरमैलाबाटै मासिक ४० हजार कमाउँदै राप्ती स्वास्थ्य प्रतिष्ठान



दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गर्दै आएको छ।

उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ३५ देखि ४० हजारसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए।

उनका अनुसार आम्दानी रकम प्रतिष्ठानले फोहोरमैला व्यवस्थापनमा नै खर्च गर्ने गरेको छ। डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै एकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन उपकरणबाट फोहरलाई अलग अलग गरी निर्मलीकरण गरिरहेको र उक्त फोहरबाट आम्दानीसमेत भइरहेको उनको भनाइ छ।

बुधबार स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर प्रतिष्ठानले गुणस्तरीय सेवा दिइरहेको जानकारी गराइएको थियो।सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित व्यवस्थापन गर्न प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गरिरहेको समेत जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ६ : ३९ बजे