१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट स्थापना



मायादेवी अनलाइन, तौलिहवा ।
सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ। स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार यहाँ अस्थायी पोष्ट खडा गरिएको हो । अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालयकै भवन भित्र खडा गरिएको छ।

अस्थाई प्रहरी पोष्टको शुक्रवार कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल र कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन । तौलिहवाको जमुहार पुल देखि पकडीसम्मको १० किमि भित्र कुनै प्रहरी चोकी नहुँदा सुरक्षा अवस्था दिन गाह्रो परेको थियो।

सो क्षेत्र भित्र सम्भावित बिभिन्न घटना र अपराधलाई मध्यनजर गर्दै पोष्ट स्थापना गरिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। समुदायमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यका साथ कार्य गर्न अस्थाई प्रहरी पोष्टलाई निर्देशन दिए।

स्थानीय समुदायले प्रहरी मेरो साथी हो भनेरै प्रहरीलाई सहयोग गरिदिनु हुन सबैसंग उनले आग्रह गरे। अस्थाई प्रहरी पोष्टलाई कपिलवस्तु नगरपालिकाबाट सक्दो सहयोग गर्ने नगर प्रमुख सुदीप पौडेलले प्रतिबद्धता व्यक्त गरे । समुदायमा शान्ति स्थापना गर्नको लागि स्थानीयले प्रहरीलाई सहयोग गरे मात्रै सम्भव हुने नगर प्रमुख पौडेलले बताए।

समुदाय र प्रहरी बीच राम्रो समन्वय र सम्बन्ध भए मात्रै समाजमा शान्ति सुरक्षा स्थापना गर्न सकिने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जोड दिए।

कपिलवस्तु नगरपालिका वडा नम्बर ८ का समुदायलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थाई प्रहरी पोष्ट दोहनीमा राखिएको ८ नम्बर वडाका वडा अध्यक्ष शिव कुमार पाण्डेयले बताए। समाजमा शान्ति सुरक्षा कायम राख्नको लागि प्रहरी पोष्ट स्थापित गरिएको उनले बताए। समाजमा शान्ति सुरक्षाको स्थापना अस्थाई प्रहरी पोष्ट गर्न सकोस् भनेर नेपाल प्रत्रकार महासंघ तौलिहवा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य शुभकामना व्यक्त गरे।

अस्थायी प्रहरी पोष्टमा ६ जना प्रहरी रहेका छन । यस अघि केही महिना अघि कपिलवस्तु नगरपालिका– ९ जगदीपुरमा समेत अस्थायी पोष्ट स्थापना गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ८ : २१ बजे