७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाणगंगाका टेकबहादुरलाई पीर माथि पीर, आर्थिक अभावकै कारण अर्को छोरा गुमाउने चिन्ता



मायादेवी अनलाइन, बाणगंगा ।
भनिन्छ, ‘सबैको एक दिन अवश्य राम्रो समय आउँछ’ त्यसैले मानिस निरन्तर संघर्षरत हुन्छ । तर कपिलवस्तुको बाणगगंगा नगरपालिका ७ धैरेनीटोलका टेकबहादुर दर्जीको राम्रो समय अझैसम्म आएन् र उनी त्यो राम्रो समय आउने कुरामा आशावादी समेत छैनन् ।

आफ्नो एक हात गुमाएका टेकबहादुरले श्रीमती, त्यसपछि जेठो छोरो गुमाए । अहिले उनलाई अर्का कान्छा छोरा केशवलाई गुमाउन पर्छ कि भन्ने चिन्ताले पोरोलिरहेको छ ।

आर्थिक अभावकै कारण उनले श्रीमती र जेठो छोरा गुमाउन पुगे । घरको आर्थिक अवस्था दयनीय भएकै कारण दमको औषधि किन्न नसकेर श्रीमती शान्तिले २९ बर्षकै उमेरमा ज्यान गुमाउन पुगेको उनी सुनाउँछन् ।

१० बर्ष पहिले शान्तिको मृत्यु भएको हो । श्रीमतीलाई सामान्य उपचार गराउन समेत पैसा अभाव हुँदा बचाउन नसकिएको भन्दै उनी बेला बेला सम्झिएर भक्कानिन्छन् ।

श्रीमती गुमाएका टेकबहादुरले फेरी आफ्नो जेठो छोरा गुमाउन पुगे । आन्द्रामा समस्या हुँदा टेकबहादुरका २५ बर्षीय छोरा जीवनको ज्यान गयो । आन्द्राको अपरेशनका लागि पैसा नहुँदा छोरालाई बचाउन नसकिएको उनले बताए । श्रीमती र जेठो छोरा गुमाएका टेकबहादुर अहिले छटपटिरहेका छन् ।

कान्छा छोरा केशवको दुवै मृगौला फेल भएको छ । केशवले आफ्नो मृगौला फेल भएको खबर बुवालाई भारतबाट सुनाए ।

खबर सुन्नसाथ बुवा टेकबहादुर झसङ्ग भए । छोरामाथि उनले देखेको सपना तुहियो । आर्थिक अभावकै कारण पढ्न नसकेर केशव काम गर्न भारत पुगेका थिए । केही बर्षदेखि उनले भारतमै घर बनाउने लेभरको रुपमा काम गरिरहेका थिए । दुई हप्ता पहिले मात्र उनलाई श्वास फेर्न, हिडँडुल गर्न समेत गाह्रो हुने जस्ता लक्षणहरु देखिन थाले । त्यसपछि डाक्टर कहाँ पुगेका केशवलाई थाहा भयो आफ्नो दुवै मृगौला फेल भएको भन्ने ।

उनले काम गरेर पाएको केही पैसाले सामान्य औषधि लिएर खान थाले । काम गर्न नसक्ने र आफूसंग भएको पैसा सकिएपछि उनी घर आउने तर्खरमा थिए । तर उनीसंग घर फर्किने पैसा समेत नभएपछि उनले घर बुवालाई फोन गरे । बुवा टेकबहादुरले ऋण नै खोजेर छोरालाई लिन नेपाल भारतको सीमा क्षेत्र कृष्णनगरसम्म पुगेर छोरालाई घर लिएर आए ।

आफन्त, साथी र समाजका केही व्यक्तिहरुसंग चन्दा उठाएर संकलन भएको रकमबाट टेकबहादुरले केशवलाई हरेक तीन/ तीन दिनमा डायलिसिसका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लाने गरेका छन् । एक पटक डायलिसिस गर्दा ३ हजार रुपैयाँ खर्च लाग्ने गरेको टेकबहादुरले बताए । डाक्टरले एउटा मृगौला फेर्न १० लाख रुपैयाँ लाग्ने बताएको उनले बताए ।
‘दैनिक गुजारा चलाउन पनि गाह्रो भइरहेको थियो । त्यसैमा छोरालाई यस्तो भयो, डाक्टरले मृगौला फेर्न १० लाख लाग्न भन्नुभएको छ । मसंग १० हजार छैन् ।’ उनले भने ।

आफ्नो मृगौला छोरालाई दिने सोच टेकबहादुरले बनाएका छन् । तर टेकबहादुर आफै विभिन्न रोगबाट ग्रस्त छन् । ‘सम्भव भएसम्म मैले नै मृगौला दिन्छु भन्ने सोच बनाएको छु,’ उनले भने, ‘तर डाक्टर त्यसको लागि काठमाडौं जानुपर्छ भन्नुभएको छ । धेरै खर्च लाग्छ रे खै कसरी हुन्छ ।’

जेठो छोरा गुमाइसकेका टेकबहादुरले कान्छो छोरा केशवको समेत मृगौला फेल भएपछि आफ्नो आशा निराशामा परिणत भएको बताए ।

‘जुन समयमा केही गर्छ भन्ने थियो, यस्तो भयो । केही आशा थियो त्यो आशा भत्ताभुङ्ग भयो । अब अघिपछि केही सोच्ने पनि रहेन्’ उनले भने ।

सबैलाई आर्थिक सहयोग लागि अपिल गर्दै उनले भने, ‘सहयोग जुट्यो भने बचाउन सकिन्छ कि भन्ने आशा छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ६ : २८ बजे