१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बुद्धले देशना गरेकोस्थल ‘सूर्य ओढार’ विकासको पखाईमा



मायादेवी अनलाइन, बाणगंगा ।
अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगंगा क्षेत्रको पूर्व-पश्चिम राजमार्ग देखि उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान आजभोलि एकाएक चर्चामा आएको छ ।

कपिलवस्तुसंगै सीमा जोडिएको अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ पावरा-विक्रम गाउँ नजिकै छ सूर्य ओढार । स्थानीयले सूर्य ओढारका रुपले चिन्ने गरेपनि यसको महत्व बुद्धसंग जोडिन पुगेको छ ।

बुद्धसंग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल सूर्य ओढारका रुपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउँछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी समेत रहेका पौडेल भन्छन्, ‘कपिलवस्तु महावन क्षेत्र हो । जस अन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देउता र दानवलाई देशना गरेको हिसावले यो ठाउँ महत्वपूर्ण छ । शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णीमाको राति यहाँ देशना गर्नुभएको थियो ।’

महासमय सुत्र बुद्धकालिन समयमा सुनाउने सुत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सुत्र सुनाउने गर्नुहुन्थ्यो । त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिए अनुसार पर्वत श्रृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख छ ।

पौडेलका अनुसार त्रिपिटकहरुमा गरिएको ब्याख्या अनुसार अनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथी नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिए अनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे ।

सूर्य ओढार पहाड नजिकै छ । जसको नजिकै भागीरथी नदी (बाणगंगा) बग्छ भने एक गुफा जसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भए अनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्धानहरु लागिपरेका छन् ।

विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथी नदीको आसपास भएको बताए । जीवनभर बुद्धको अध्ययनका लागेका गुरुङले बताए अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो ।

बुद्धले २९ बर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ । तिलौराकोटमा हाल उत्खनन भइरहेको छ । जहाँ बौद्धकालिन संरचना भेटिने क्रममा छन् ।

पौराणिक कालमा भागीरथि नदीले चिनिएको बाणगंगा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शितगंगा नगरपालिकाका पूर्व नगर उप-प्रमुख टिका रेश्मीले बताए ।

पावरा–विक्रमका गाउँलेहरुले सूर्य उदाएको देखिए पछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए । स्थानीय बाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसंग जोडिएपछि थप चर्चामा आएको छ । बुद्धको खोज र अनुसन्धान भइरहदा कतिपय कितावमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन् ।

जसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसंग जोडेको हो ।

फाल्गुणको दोस्रो हप्ता यहाँ ४० जना भिक्षु लगायत दर्शनौंको संख्यामा बौद्ध अनुयायी आएका थिए । उनीहरुले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए ।

बहुसंख्यक थाई लगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुको साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो ।

यसको प्रसार प्रसारको मुख्य अगुवाई शितगंगा नगरपालिकाका पूर्व उपमेयर टिका रेश्मीले गरेका छन् ।

यसको विकास र प्रचार-प्रसारका लागि भिक्षु लगायत बुद्धका अनुयायीहरुको अवलोकन महत्वपूर्ण रहेको उनले जनाए । भिक्षुसंगै आएका बौद्ध अनुयायीहरुले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उनले जनाए ।

बाणगंगा नगरपालिका वडा नं. ८ निवासी समेत रहेका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताए । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जंगली क्षेत्र रहेकाले वनसंग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएको समेत उनले जनाए । खुल्ला आकाशमुनी ध्यान गर्दा घामपानी, हावाहुरी र बर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडी रहेको क्षेत्रको विकासका लागि आफूहरु कम्मर कसेर लाग्ने बताए । बुद्धकालिन सभ्यतासंग जोडिएको भूगोल भएकाले यसको विकास के कसरी गर्न सकिन्छ सरोकारवालासंग मिलेर अगाडी बढ्ने उनले जनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ८ : २८ बजे