७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकालाई यातायात सेवा उपलब्ध गराउने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ ।

आइतवार बसेको नगर कार्यपालिका बैठकले नगर भित्रका डायलाइसिस गराइरहेका बिरामीहरुको लागि यातायात खर्च बापत रु. दुई लाख ५० हजार बिनियोजन गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

यहाँबाट मृगौलाका बिरामी डायलाइसिस गराउनका लागि बुटवल जानूपर्ने बाध्यता छ । नगरपालिकाले यातायात खर्च दिने भएपछि बिरामीलाई केही भएपनि राहत मिल्ने छ ।

त्यस्तै कार्यपालिका बैठकले आर्थिक वर्ष ७९/८० मा सम्पन्न हुने योजनाको समिक्षा पनि गरेको छ । जस अनुसार उपभोक्ताबाट सम्पन्न हुने ३ सय ४३ वटा योजना मध्ये १ सय २१ वटा योजनाहरु सम्पन्न भएर निकासा पनि भइसकेको जनाइएको छ ।

त्यस्तै ठेक्का मार्फत सम्पन्न हुने ६१ वटा योजना मध्ये दुई वटा योजना सम्पन्न भएको र अन्य योजनाहरु संचालनमा रहेको प्रवक्ता पौडेलले बताए ।

नगरको वडा नम्बर ६ र ७ मा गरेर दुई वटा खोप केन्द्र निर्माण गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । जसको लागि ७/७ लाख रुपैयाँ पनि बिनियोजन गरिएको छ ।

त्यस्तै अन्तराष्ट्रिय अन्डर १९ क्रिकेटमा सामेल रहेका वडा नम्बर ५ का दुर्गेश गुप्ता, अन्तराष्ट्रिय म्याराथुन धावक वडा नम्बर ९ का अजय पाण्डे र अन्तराष्ट्रिय क्रिकेट खेलाडीहरुको थेरापिष्ट वडा नम्बर ८ का विक्रम न्यौपानेलाई सम्मान गर्ने पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरमा ७ सय जनाले आवेदन भरेका र त्यसको स्वीकृतको लागि प्रदेश सरकारमा पठाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

बैठकले बाल क्लब गठन गर्ने निर्देशिका शंसोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा लेखा प्ररिक्षण प्रतिवेदन विषयमा लेखा अधिकृत केशवराज गैरेले जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ६ : ०९ बजे