८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोहलपुरले विकासका लागि ‘भिजन कम्पिटिसन’ गराउने



नेपालगन्ज ।
कोहलपुर नगरपालिकाले नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव माग गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको सामान्य देखिएका ठूला विषय पनि हुन सक्छन् । त्यस्ता विषयहरु बौद्धिक व्यक्तिबाट आओस् भन्ने हाम्रो सोचाइ हो,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने छन् ।

यसरी प्रस्तावना पेश गर्दा कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी कोहलपुरको विकास, निर्माण, सुशासन लगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ।

नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास, संस्थागत विकास, सुशासन, वातावरण तथा विपद् व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोगका साथै सूचना, सञ्चार एवम् कुनै भए सो समेत उल्लेख गरी सो क्षेत्रको सुधारका लागि नगरपालिकाले अबलम्वन गर्नुपर्ने नीति एवम् ठोस कार्ययोजनासहितको सुझाव पेश गर्नुपर्ने शर्त राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

पेश भएका प्रस्तावनालाई नगरपालिकाले अध्ययन गरि संक्षिप्त सूचीमा परेका प्रस्तावक स्वयम नगरपालिकामा उपस्थित भइ वा भर्चुअल माध्यमबाट प्रस्तुति गर्नुपर्ने नियम नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने प्रस्तावना मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रथम हुने प्रस्तावक वा विज्ञलाई कोहलपुर नगरपालिकाको सद्भावना दूत वा विज्ञ समूहमा नियुक्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : ३१ बजे