१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मालारानीद्धारा दीर्घरोगीलाई निःशुल्क औषधि



अर्घाखाँची ।
मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार ४ सय ८७ दीर्घरोगी रहेको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले उच्च ब्लडप्रेसरका १ हजार १ सय ७७ जना, सुगरका २ सय ६७ जना र अन्य ४३ जनाको स्वास्थ्य परीक्षण गरेको बताए । तीमध्ये १ हजार १ सय ५९ जनालाई औषधि वितरण गरिएको छ । कुन वडामा कति जना दीर्घरोगी छन् र कतिले औषधि सेवन गर्छन् भनेर वडाबाट तथ्यांक संकलन गरेपछि उपचारमा लागेको उनले बताए । प्रारम्भिक तथ्यांक संकलन गर्दा १ हजार ३ सय ६० जना भेटिए पनि पछि उपचार गर्ने क्रममा १ सय २७ जना थपिएको उनले सुनाए ।

पालिकाले गाउँसभाबाट दीर्घरोगीको औषधि उपचारका लागि यस आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । १३ लाख रुपैयाँको औषधि खरिद गरेको छ । सबै रकम खर्च नहुने भएपछि हिउँदे अधिवेशनबाट १२ लाख रुपैयाँ रकमान्तर गरेको छ । सबै वडाका स्वास्थ्य चौकीमा शिविर राखेरै बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि सेवन गरिरहेका र गर्नुपर्ने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ । अब निश्चित दिन तोकेर सेवालाई निरन्तरता दिइने भुसालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : ३४ बजे