४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

ठाकुरबाबाद्वारा स्वास्थ्य सेवा कार्यविधि पारित



बर्दिया ।
ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाइ, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले पालिकामा ५ लाख र हरेक स्वास्थ्य संस्था तहमा २० हजार कोष स्थापना गरिएको बताए । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि पारित गरेको यो पहिलो भएको उनले जनाए ।

बिग्रेका औजार तत्काल मर्मतसभ्भार गरी पुनःसञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिने भएको छ । मर्मत सम्भारमा परिचालित प्राविधिकलाई पारिश्रमिक दिने भएको छ । आगामी दिनमा स्वास्थ्य सेवाका संरचना बनाउदा दिगोपनका लागि योजना बनाउने नगर प्रमुख तिलक लम्सालले बताए ।

ग्रामिण जागरण संघ र टिडीएच फाउन्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित परियोजनाको आइतबार शुभारम्भ भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, उपप्रमुख विना भट्टराई लगायतका वक्ताले यस नीतिबाट मुख्यरुपमा सेवाग्राही,सेवाग्राहीसँग आउने मानिस र स्वास्थ्यकर्मी लाभान्वित हुने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : ५२ बजे