१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा एसइइ परीक्षा दिने ९ हजार बढी विद्यार्थी



मायादेवी अनलाइन, बाणगंगा ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि कपिलवस्तुमा तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको छ । यस वर्ष जिल्लामा एसइइ परीक्षामा ९ हजार बढी विद्यार्थी सहभागी हुँदै छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुँवरका अनुसार कपिलवस्तुमा यसवर्ष नियमित तर्फ कुल ८ हजार ९ सय ६६ विद्यार्थी परीक्षामा सम्मलित हुँदै छन् ।

यस्तै ग्रेड वृद्धि तर्फ ३ सय २२ जना, प्राविधिक तर्फ ४ सय २३ जना गरी जिल्लामा यसवर्ष कुल ९ हजार ७ सय ११ विद्यार्थी एसइइ परीक्षा दिने तयारीमा छन् ।

यही चैत्र १७ गते देखि सुरु हुन लागेको उक्त परीक्षाका लागि यस वर्ष २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित मुरफुटुवामा एउटा र महाराजगञ्ज नगरपालिकामा न्यू शिशु इङ्लिस बोर्डिङ स्कूलमा एउटा केन्द्र थप गरिएको शाखा अधिकृत कुवँरले बताए ।

जिल्लामा तोकिएका २९ वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि शिक्षा तथा समन्वय इकाइले तत्काल केन्द्राध्यक्षहरुको नियुक्ति गर्ने तयारी गरेको छ । तोकिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरी परीक्षालाई मर्यादित र अनुशासित तवरबाट सम्पन्न गराउने तयारी गरिएको छ ।

यसैबीच कपिलवस्तुमा एउटा पनि केन्द्र नरहेको पालिको यशोधरा गाउँपालिका रहने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत कुवँरले जानकारी दिए । यशोधरा बाहेक जिल्लाका अन्य सबै पालिकामा भने केन्द्र निर्धारण गरिएको छ ।

यस्तै यस वर्षको एसइइ परीक्षा संचालनका लागि आवश्यक पर्ने उत्तर पुस्तिका तोकिएका केन्द्रहरुमा पुगिसकेका छन् भने आवश्यक प्रश्नपत्र पनि जिल्लामा आइसकेको कुवँरले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ७ : ३३ बजे