१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीमा सीमानाकाका हेल्थडेस्क प्रभावकारी बनाइँदै



लुम्बिनी ।
भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ ।

रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुना, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा वारि–पारि गर्नेहरूको स्वास्थ्य चाँज गर्न थालिएको छ ।

पछिल्ला दिनमा यो प्रदेशका नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोभिड सङ्क्रमित व्यक्ति नियमितजसो भेटिने गरेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै सतर्क रहन एवं स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको बाँके जिल्ला कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पद व्यक्तिहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमित भएकाहरू भेटिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

चैतको महिनामा मात्र जमुनाह नाकामा ३० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकीबाहेक अन्य जटिल लक्षण भने देखिएको छैन । यसैबीच फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गरेर सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न आग्रह गरेको छ ।

सङ्क्रमण फैलिन नदिन कोभिडविरुद्धको बुस्टर डोज दिने कार्यलाई पनि तीव्र पारिएको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ६ : ०५ बजे