१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाल्पामा नयाँ छाला रोगको संक्रमणले पशु मर्न थाले



पाल्पा ।
पाल्पामा नयाँ खालको रोगले पशुहरु मर्न थालेका छन् । पशुको छालामा नयाँ खालको संक्रमण देखिएको हो ।

लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र मर्ने गरेको पाइएको छ ।

अहिलसम्म यो रोगबाट ७५ वटा गाईगोरुहरु मरेका छन् । सबैभन्दा बढी पाल्पाको बगनासकालीमा ४४ वटा गाइगोरुको मृत्यु भएको छ । लम्पी छाला (स्कीन) रोग जिल्लाभर महामारीका रुपमा फैलिएको छ ।

यस्तै माथागढीमा १८ वटा गाई गोरु, बाच्छाबाच्छीको मृत्यु भएको छ । यस्तै निस्दी गाउँपालिका छ वटा र रिव्दीकोट गाउँपालिकामा चार वटा गाइगोरु मरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

पाल्पामा लम्पी स्किन रोगबाट हालसम्म ७६३ वटा गाइगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी तिनाउ गाउँपालिकाका किसानले पालेका दुधालु गाइमा संक्रमण बढी देखिएको छ ।

तिनाउका विभिन्न किसानले पालेका गाईमा लम्पी स्किनको संक्रमण देखिएको पशु चिकित्सक नवीन बस्यालले जानकारी दिए ।

लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । लम्पी स्किन रोग लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए । यस्तै माथागढी र बगनासकाली गाउँपालिकाका ४०० बढी पशु लम्पी स्किन रोगबाट संक्रमित भएका छन् ।

यस्तै निस्दीमा ६६, रिव्दीकोटमा ३२, रैनादेवी छहरामा ३५ र तानसेन नगरपालिकामा ३० वटा पशुमा लम्पी स्किन संक्रमण फैलिएको जनाइएको छ ।

लम्पी स्किन संक्रमित भएका पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिन्छ । यसको संक्रमण देखिएपछि पालिका र विज्ञ केन्द्रले विभिन्न स्थानमा उपचारको अभियान संचालन गरेको बगनासकाली गाउँपालिका प्रमुख खनालले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ६ : ५३ बजे