१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाणगंगाबाट अब पानी परिक्षण प्रयोगशालाको काम हुने, मुख्यमन्त्री गिरीले गरे भवनको उद्घाटन



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवनको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।

बाणगंगास्थित उत्तमनगरमा सुविधा सम्पन्न पानी परिक्षण प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले प्रयोगशालाका लागि प्रदेशबाटै कर्मचारीको दरबन्दी आइसकेको र अब छिट्टै नै पानी परिक्षण कार्य सुरु हुने बताउनुभयो ।

विगतका दिनमा पानीबाट लाग्ने रोगबाट जनता ग्रसित रहेको बताउँदै प्रयोगशाला संचालनमा आएपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको लगानीमा व्यवस्थित रुपमा निमार्ण सम्पन्न भएको यो पहिलो प्रयोगशाला रहेको बताउँदै उहाँले प्रयोगशालाले दुषित पानीको प्रयोगबाट उत्पन्न हुने र लाग्ने रोगबाट बच्न साथै स्वस्थ जीवनयापनमा ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले तय गरेको मापदण्ड र ऐन बमोजिम खानेपानीलाई प्रमाणित गरेर मात्र खानेपानी उपलब्ध गराउन प्रदेश भरिकै खानेपानी आयोजनालाई सर्कुलर गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पूर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थी, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, कपिलवस्तु प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जकि अहमद अन्सारीले १ करोड, ९४ लाख, ९३ हजार ५ सय ९० रुपैया लागतमा निर्माण सम्पन्न भएको जानकारी गराउनु भएको हो ।

कार्यक्रममा भुपुसैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहले प्रदेश स्तरका संरचना निमाण हुन कपिलवस्तुबासीहरुकै लागि गौरवको विषय भएको बताउनुभयो ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ७ : ५१ बजे