१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पर्यटकीयस्थल ‘सेङलेङ लेक’मा मन्त्री भुसाल, स्थानीयबासीको भव्य स्वागत



मायादेवी अनलाइन, अर्घाखाँची ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल लुम्बिनी प्रदेशमै पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको सेङलेङ लेकमा पुग्नुभएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौरमा रहेको सेङलेङ लेक पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्णस्थल हो । यहाँ मन्त्री भुसालको आगमन भएको हो । स्थानीयबासीले मन्त्री भुसाललाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।

समुन्द्र सतह देखि झण्डै तीन हजार फिटको उचाईमा रहेको यस लेकबाट दक्षिणमा तराई, उत्तरमा हिम श्रृङ्खला सहजै देख्न सकिन्छ । परापूर्वकाल देखि नै यस लेक वरपर बाक्लो बसोबास रहि आएको छ । ब्राह्मण, क्षेत्री, जनजाती, दलित समुदायको मिश्रित बसोबास रहेको यहाँ कृषि र पशुपालनको राम्रो सम्भावना भएको स्थान हो । साथै पछिल्लो समय यहाँ पाथिभराको मन्दीर निर्माण गरिएको छ ।

टिमुर खेतीका लागि प्रख्यात यस स्थानमा भेडापालनको पनि राम्रो सम्भावना छ । विभिन्न जडिबुटी पाइने यस स्थानमा पछिल्लो समय होमस्टे सन्चालनको तयारी भइरहेको छ । सुपा देउराली देखि पैदलमार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ लैजाने तयारी छ । सुपा देउराली दर्शन गर्न पाउने पर्यटकको प्रमुख गन्तव्य सेङलेङ लेक हुनसक्ने सम्भावनाको खोजीमा यहाँका बासिन्दा लागेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री भुसाल सेङलेङ लेक पुगेर यहाँको विकासमा चासो व्यक्त गर्नुभएको छ । संघीय मन्त्री नै आफ्नो गाउँठाउँमा आएपछि यहाँका स्थानीयबासी दङ्ग परेका थिए । सेङलेङ पुगेर मन्त्री भुसालले होमस्टेको औपचारिक उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सेङलेङ कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण स्थान रहेको बताउनुभयो । यहाँको वातावरण असाध्यै मनमोहक र सुन्दर रहेको भन्दै यस ठाउँमा पर्यटक भित्त्राउनका लागि स्थानीयबासी अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

‘सेङलेङ घुम्न जानुपर्छ भन्ने गराउन यहाँको परम्परागत कला संस्कृतिको जर्गेना गर्नुपर्छ । यहाँ आउने पर्यटकलाई बास बसाल्नका लागि परम्परागत घरहरुबाटै बन्दोबस्त गर्नुपर्छ मन्त्री भुसालले भन्नुभयो, ‘स्थानीय उत्पादनलाई बढवा दिदैं यहाँको उत्पादनको स्वाद चखाउन सके मात्र पर्यटक यहाँ आकर्षित हुन्छन्, यस विषयमा जोड दिऔं ।’

सेङलेङमा कृषि उत्पादनमा बढवा दिनका लागि आफ्नो तहबाट विशेष सहयोग रहने बताउनुभयो । अघिल्लो बर्ष सुपा देउरालीदेखि सेङलेङ जोड्ने सडक विस्तारमा आफूले बजेटको पहल गरेको समेत जानकारी दिनुभयो ।

सेङलेङमा टिमुरको राम्रो सम्भावना रहेको भन्दै यसको खेती विस्तारमा जोड दिनुभएको छ । साथै चिराइतोको लागि पनि राम्रो सम्भावना रहेको स्थान भएकाले यसको व्यवसायिक खेती तर्फ मन्त्री भुसालको जोड थियो ।

चिया र कफिमा समेत यहाँ सम्भावनाको खोजी भइरहेको भन्दै आगामी बर्ष यी कार्यक्रम समेत सन्चालन गर्ने मन्त्री भुसालले बताउनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८० मंगलबार ००:००  ५ : १५ बजे