४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चन्द्र भण्डारीले भनेः ग्यास, बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै राखौं



काठमाडौं ।
प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै राख्न माग गर्नुभएको छ ।

गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास चुहिएर भएको आगोलागीमा घाइते भएका भण्डारी त्यसपछि बुधवार पहिलो पटक संसद् बैठकमा उपस्थित हुनुभएको हो । उहाँले भन्नुभयो, ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि’, उहाँले भन्नुभयो, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि ।’ उहाँले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न लगाउनुपर्ने र यसबारे कानुन बनाउनुपर्नेसमेत बताउनुभयो ।

जलनमा परेर अघिल्लो वर्ष एक सय १० र यो वर्ष आफ्नो आमासहित एक सय ११ जनाको ज्यान गएको भन्दै सांसद भण्डारीले यसलाई गम्भीररूपमा लिनुपर्ने बताउनुभयो । उहाँले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसद, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।

भण्डारीकी आमा हरिकला भण्डारीको गएको फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई फागुन ४ गते नै थप उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारी गएको वैशाख १७ गते स्वदेश फर्कनुभएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८० बुधबार ००:००  ५ : २२ बजे