७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तु बुड्ढी चोकमा प्रहरी चौकीको स्थापना



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुड्ढी चोकमा प्रहरी चौकीको स्थापना गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित बुड्ढी चोकमा बुधबार एक कार्यक्रमका बीच प्रहरी चौकीको स्थापना गरिएको हो ।

बुद्धभूमि नगरपालिकाले प्रहरी चौकीका लागि भवन प्रदान गरेको हो । नगरको कृषि शाखा रहेको भवनलाई थप स्तरउन्नति गरी प्रहरी चौकीको रुपमा स्थापना गरिएको छ ।

वि.सं. २०७६ साल असोज ७ गतेको मन्त्रीपरिषद् बैठकले बुड्ढी हनुमान चोकमा प्रहरी चौकी स्थापना गर्ने निर्णय भएको थियो । निर्णय भएको लामो समय वित्दा समेत यहाँ प्रहरी चौकी स्थापना हुन सकेको थिएन् ।

भवन अभावको कारण प्रहरी चौकी स्थापना गर्न नसकिरहेको अवस्थामा बुद्धभूमि नगरपालिकाले आफ्नो सक्रियतामा प्रहरी चौकी स्थापना गरिदिएको हो ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेको मातहतमा रहेर बुड्ढी हनुमान चोकमा स्थापना भएको प्रहरी चौकीले बुड्ढी, इमिलिया, दुविया लगायतको स्थानको शान्त सुरक्षामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

बुधबार प्रहरी चौकी बुड्ढी कपिलवस्तुको भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले महत्वपूर्ण स्थानमा प्रहरी चौकीको स्थापना भएको भन्दै यसले शान्ति सुरक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी भएको ठाउँको विकास स्वभाविक हुने भन्दै यसको इज्जत राख्न प्रहरी चौकीको जिम्मेवारी सम्हाल्ने प्रहरी जवानलाई आग्रह गर्नुभयो । देशैभर समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएको बताउँदै प्रहरी नायब महानिरिक्षक जोशीले व्यवहारबाट मानिसको मन जित्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफूहरुको सक्रियताका कारण बुड्ढीमा प्रहरी चौकीको स्थापना गर्न सकिएको बताउनुभयो । साविक नगरको कृषि शाखा रहेको कार्यालयलाई थप व्यवस्थित बनाई प्रहरी चौकी राखिएको उहाँले बताउनुभयो । अब यस क्षेत्रको शान्ति सुव्यवस्थामा प्रहरी चौकी स्थापनाले थप मद्धत मिल्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुशील चौधरी, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरिक्षक शैलेश्वरी बोहराले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८० बुधबार ००:००  ६ : ०८ बजे