१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जाने होइन त सरर लुम्बिनी केबलकारमा ?



शिवलाल सुवेदी, बुटवल ।

लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवल वसन्तपुर लुम्बिनी केबलकार सोमवारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । आईएमई ग्रुपले निर्माण गरेको केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

गणतन्त्र दिवसको अवसर पारेर व्यावसायिक सञ्चालन गरेको लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भने आगामी २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी रहेको अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । बुटवल उपमहानगरपालिका ३ मा बटम स्टेशनदेखि र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरसम्म २.६ किलोमिटर दुरी रहेको छ ।

शिलान्यास गरेको तीन वर्षभित्रै केवलकार सञ्चालन आउनुमा स्थानीयको ठुलो सहयोग रहेको अध्यक्ष ढकालले बताएका छन् । स्थानीयवासीहरुकै सहयोगमा धेरै छिटो केवलकार सञ्चालन ल्याउन सफल भएका छौ उनले भने उहाँहरुको सहयोगको सम्मान स्वरुप स्थानीयलाई केवलकार चढ्दा २५ प्रतिशत छुट दिने निर्णय गरेका छौ । लुम्बिनी केवलकार प्रा.लि.ले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको छ । दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्ने लक्ष्य राखिएको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा यात्रु बोक्ने डिब्बा रहेको आयोजना प्रमुख गोकुल साउदले बताए । ५ अर्व लगानीमा लुम्बिनी केवलकार सञ्चालन आएको समेत साउदले जानकारी दिए । एक हजार रुपैया कायम गरिएको टिकटमा विद्यार्थीका लागि २५ प्रतिशत छुट ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क र फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्कमा जम्मा ३७५ रुपैया मात्र कायम गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८० सोमबार ००:००  ४ : १६ बजे