१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

भैँसीमा ३ गुणा दूध बढाइदिने मुर्रा राँगा आइपुग्न डेढ महिना लाग्ने



काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगाका विषयमा सामाजिक सञ्जालदेखि संसद्सम्म चर्चा छ । आखिर यी कस्ता राँगा हुन् रु यिनको प्रजनन क्षमता कस्तो छ ? यस विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ ।

यसले कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार हुने मन्त्रालयको दाबी छ । यसले नश्ल सुधारपछि दूधमा देखिएको समस्या समाधान हुने जानकार बताउँछन् । दुई मुलुकबीचको सहकार्यअनुसार १५ वटा मुर्रा राँगो उपलब्ध गराइने भारतीय दूतावासले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराइँदै छ ।’

कृषि मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मुर्रा राँगो आयातका लागि विगतदेखि नै प्रयास भइरहेको प्रस्ट्याएको छ । ‘सन् २०१८ मा नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको निर्णयानुसार विभिन्न समयमा औपचारिकरअनौपचारिक रूपमा भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध भएको थियो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२० जुनमा नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमका १५ वटा उच्च नश्लका मुर्रा जातका पाडा उपलब्ध गराउन सम्बद्ध भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको छ ।’ फलस्वरूप प्रधानमन्त्रीको भ्रमणमा १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध गराउने घोषणा भएको मन्त्रालयले जनाएको छ ।

‘यो उन्नत प्रजाति मुख्यतः भारतको पञ्जाब र हरियाणामा विकास भएको हो । नश्ल सुधारका लागि यो विश्वकै उन्नत जातमा पर्छ,’ पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘लामो समयको प्रयासबाट भारतले मुर्रा राँगो उपलब्ध गराउने भएको छ । यसले दुग्ध क्षेत्रमा फड्को मार्ने अपेक्षा गरेका छौं ।’

दुग्ध क्षेत्रको विकास गर्न मुर्रा आयातको पहल भएको विभागले प्रस्ट्याएको छ । खरिददेखि जीटूजीको पनि प्रयास भएको थियो । तर विफल भयो । लामो प्रयासपछि भारतले वस्तुगत सहायतास्वरूप १५ वटा मुर्रा राँगो निःशुल्क दिन लागेको हो । ‘भारतको नीतिले मुर्रा राँगो बिक्रीवितरण निषेध गरिएको रहेछ । अन्तर्राष्ट्रिय बिडिङ गर्दा पनि खरिद गर्न सफल भएका थिएनौं,’ ढकालले भने, ‘१५ वटा मुर्रा राँगो उपलब्ध गराउने निर्णयले सजिलो भयो ।’

मन्त्रालयका अनुसार पछिल्लो समय दूध दिने गाई, भैंसीको संख्या र दूध उत्पादन बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा गाईको संख्या १२ लाख ९ हजार ४१ थियो । ०७८/७९ मा यस्तो संख्या बढेर १२ लाख २३ हजार ६१ पुगेको छ । आर्थिक वर्ष ०७७/७८ मा १६ लाख ३० हजार ६ सय ४२ भैंसी रहेकामा ०७८/७९ मा १६ लाख ६६ हजार ८ सय २७ पुगेको जनाइएको छ । संख्या बढेसँगै दूध उत्पादनमा पनि केही सुधार भएको मन्त्रालयको तथ्यांक छ ।

०७७/७८ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दूध उत्पादन भएकामा ०७८/७९ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ । भैंसीको दूध पनि १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । तर पनि हरेक वर्ष दूध अभाव भइरहेको छ । दूध अभाव भएपछि गत वर्ष भारतबाट समेत आयात गरिएको थियो । यसपालि पनि आयातका लागि उद्योगीहरूले दबाब दिइरहेका छन् ।

भारतबाट आयात हुने मुर्रा राँगो र कृत्रिम गर्भधारणले दूध उत्पादन बढाउने मन्त्रालयले जनाएको छ । राँगोको प्राविधिक पक्ष निरीक्षणका लागि सक्दो छिटो विज्ञ एवं प्राविधिक भारतका सरकारी फार्ममा जाने तयारी भइरहेको छ । प्राविधिक पक्षको टुंगो लागेपछि भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध हुने बताइएको छ ।

‘परराष्ट्र मन्त्रालयमार्फत काम भइरहेको छ, यसरी प्राप्त राँगालाई पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिनेछ,’ ढकालले भने, ‘एक डेढ महिनाभित्र राँगा आइपुग्छन् ।’ भारतबाट आयात हुने राँगाबाट पोखरा, नेपालगन्ज र लाहानमा रहेका प्रजनन कार्यालयमा उच्च गुणस्तरको वीर्य उत्पादन गरिने बताइएको छ । त्यसपछि किसानलाई कृत्रिम गर्भाधानका लागि उक्त वीर्य उपलब्ध गराइने जनाइएको छ । मुर्रा राँगोबाट १० वर्षसम्म वीर्य संकलन गर्न सकिन्छ 

‘प्रत्येक साता सिमेन संकलन र प्रयोगशाला परीक्षण गरिन्छ । १.९६ डिग्रीमा भण्डारण र गुणस्तर परीक्षण गरेपछि विभिन्न ठाउँमा वितरण हुन्छ,’ उनले भने । यसले पशुको उन्नत नश्ल विकास हुने जनाइएको छ । एउटा बेतको समय ३ सय १० दिन हो । आर्थिक वर्ष ०७७/७८ मा गाईको प्रतिबेत उत्पादन ८ सय ७७ लिटर थियो । ०७८/७९ मा बढेर ९ सय लिटर पुगेको छ । स्थानीय भैंसीको दूध उत्पादन क्षमता ८ सय ७० लिटरबाट बढेर ९ सय ८७ लिटर पुगेको पनि छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराले विकास गरेको मुर्रा भैंसीको एक बेतको उत्पादन क्षमता करिब २२ सय लिटर हो । तर भारतबाट आयात हुने मुर्रा राँगोबाट कृत्रिम गर्भाधान गरेको भैंसीको उत्पादन क्षमता ४ हजार लिटरभन्दा बढी रहेको सूचना अधिकारी ढकालले जनाए । ‘मुर्रा पाडीले एक बेतमा ४ हजार लिटरभन्दा बढी दूध दिने क्षमता राख्छ,’ ढकालले भने, ‘लाखौं भैंसीमा कृत्रिम गर्भाधान गराएर पछि नश्ल सुधारको अपेक्षा गरेका छौं ।’

लोकल जातका भैंसीबाट पर्याप्त दूध नभएकै कारण नश्ल सुधारका लागि मुर्रा राँगो ल्याउन पहल भएको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका सूचना अधिकारी धर्मराज गिरीले बताए ।

सरकारले गत वर्ष अमेरिकाबाट ६ वटा साँढे ल्याएको थियो । गत पुसमा दक्षिण कोरियाले नेपाल सरकारलाई साँढे ५६ करोड बराबरको सय बाछी र २० वटा साँढे उपहार दिएको थियो । यसमा हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८० बुधबार ००:००  ९ : १० बजे