१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्णः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले छरिएर रहेको पूँजीलाई एकीकृत गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

गाउँघरमा खोलिएका सहकारीले साना तथा मझौता उद्यमीलाई निकै राम्रो काम गरेको भन्दै सहकारीबाट नै समाजको आर्थिक रुपान्तरणमा प्रभावकारी भूमिका खेल्न सकिने नगर प्रमुख श्रेष्ठले औल्याउनुभयो ।

सहकारी प्रति जनताको विश्वास बढिरहेको बेला पछिल्लो समय सहकारीको पूँजी हिनामिना भएका खबरहरु सार्वजिनक हुन थालेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सहकारी संस्थाको क्षमता वृद्धि सम्बन्धि कोपोमिस तालिमको बुधबार गोरुसिंगेमा उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘नगरभित्रका सहकारी सन्चालनमा तपाईहरुको भूमिका महत्वपूर्ण छ । यहाँका सहकारी सिष्टममा चलेका छन् । तर कतिपय सहकारीमा रकम अपचलनका खबरमा दैनिक सुनिन थालेका छन् । यसमा तपाईँहरु सचेत भएर काम गर्नुपर्छ। नगरबाट सहकारीलाई हुने सहयोग हुन्छ ।’

सहकारीलाई समय समयमा तालिको आवश्यकता भएको र त्यसलाई नगरले हरेक बर्ष सम्बोधन गर्दै आएको उहाँले बताउनुभयो ।

नगरपालिकाका उद्योग तथा सहकारी शाखाका अधिकृत विजय भुसालले तालिमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । केशव बेल्वासेको सन्चालनमा भएको तालिममा नगरभित्रमा सहकारीका व्यवस्थापनको संलग्नता रहेको छ । तालिम बुधबार देखि शुक्रबारसम्म सन्चालन हुने छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८० बुधबार ००:००  ६ : २४ बजे