१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

लम्पिस्किन रोगको संक्रमण क्रमशः घटने क्रममा छः मन्त्री भुसाल



काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताएका हुन्। संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए।

हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको उनको भनाइ थियो। मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे। मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाई छ।

मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका बताए। संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उनले उल्लेख गरे। त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उनले जानकारी दिए।

प्रकाशित मिति : २८ असार २०८० बिहिबार ००:००  ९ : १४ बजे