७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कुलर, फ्रिज र पूजा गर्ने कलशमा लामखुट्टे प्रजनन



बागलुङ । डेंग सङ्क्रमण तीव्र गतिमा फैलिएको बागलुङ नगरपालिका क्षेत्रमा गरिएको सर्वेक्षणले भाँडा, कुलर, फ्रिज, गमलाको प्लेट, पूजा गर्ने कलश र प्रयोग नभएका टायरमा डेंग सार्ने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ ।

डेंगु सङ्क्रमणको कारण, जोखिमको कारक तथा फैलिरहेको डेंगुको भेरियन्ट पहिचान गर्न स्वास्थ्य सेवाका डा. गोकर्ण दहाल, इपिडिमियोलोजिस्ट कौशल सवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्तको टोलीले घनाबस्ती रहेको बागलुङ नगरपालिका क्षेत्रका ३ वटा वडामा ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण गरिरहेको छ ।

सर्वेक्षणमा विशेषज्ञ टोलीलाई प्रदेश जनस्वास्थ्य कार्यालय, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र फेयरमेड फाउन्डेशनले सहजीकरण गरिरहेका छन् ।

सर्वाेक्षणको प्रारम्भिक नतिजाले बागलुङ बजार क्षेत्रमा डेंगु फैलाउने लामखुट्टेको जोखिम उच्च देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । ‘‘नगरपालिकाको वडा १, २, ३ र ४ मा एकसय १२ घरधुरीमा गरिएको सर्वेक्षणले ५४ घरमा डेंगु सार्ने लामखुट्टेको प्रजनन भएको संकेत भेटिएको छ’’ शर्माले भन्नुभयो ।

सर्वेक्षणका क्रममा पानी जम्ने भाँडा, कुलर, फ्रिजको ट्रे, गमलाको प्लेट, पूजा गर्ने कलश तथा प्रयोगविहीन टायरसहित चारसय ४४ वटा सम्भावित प्रजनन स्थलको निरीक्षण गर्दा ८८ वटा पानी भरिएका भाँडामा लामखुट्टेको अण्डा, लार्भा र प्युपा भेटिएको थियो ।

टोलीले डेंगु भएका र नभएका व्यक्तिबीच जोखिमको कारक तुलना गर्न ‘केस–कन्ट्रोल’ पनि अध्ययन गरिरहेको छ । धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रक्त नमुनाको थप परीक्षणमार्फत डेंगुको भेरियन्ट पहिचान गर्ने काम भइरहेको छ ।

अधिकांश घरमा डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएपछि जनस्वास्थ्य कार्यालयले घरमा रहेको फ्रिज तथा कुलरमा जमेको पानी सफा गर्न, पानी जम्मा हुने ड्रम, गाग्री, बाल्टी तथा पूजाको भाँडा सफागरी छोपेर राख्न, घर वरिपरि पानी जम्न नदिन, हप्तामा एक पटक आफ्नो टोलमा सरसफाइ गरी लामखुट्टेले अण्डा पार्ने स्थान नष्ट गर्न अनुरोध गरेको छ । 

लामखुट्टेले अण्डा पार्ने स्थान नष्ट गर्न सके डेंगुको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने भएकाले सबैलाई अभियानमा सहभागी हुन जनस्वास्थ्यले आग्रह गरेको छ ।

असारयता बागलुङमा डेंगु सङ्क्रमितको संख्या १ हजार ५ सय ८९ जना पुगेको छ । तीमध्ये १ हजार ३ सय ७८ जनाको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । अन्य बिरामीको ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८३ बुधबार ००:००  ५ : ०३ बजे