कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपियाँ बराबरका ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान करिब २ बजे कृष्णनगर नगरपालिका–१२ हरिदवातर्फ गस्ती गर्ने क्रममा सडक छेउमा बेवारिसे अवस्थामा रहेका २४० थान ल्यापटप डिस्प्ले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद डिस्प्लेको प्रतिथान अनुमानित सात हजार रुपियाँका दरले कुल मूल्य १६ लाख ८० हजार रुपियाँ रहेको छ ।
सोही स्थानबाट यूपी ५५ एडी ५६२१ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ । मोटरसाइकलको अनुमानित मूल्य एक लाख ५० हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ । दुवैको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपियाँ रहेको छ ।
घटनामा संलग्न व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो । थप अनुसन्धानपछि बुधबार दिउँसो ३ः४० बजे आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया