१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

रामदतिवन धामको चौथो साधारणसभा सम्पन्न, पर्यटन प्रवर्द्धन र संरक्षणमा जोड



बाबुराम रायमाझी, वाणगंगा ।

वाणगंगा नगरपालिका–९ मा अवस्थित धार्मिक, पुरातात्त्विक तथा ऐतिहासिक महत्व बोकेको रामदतिवन धामको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। धामको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित साधारणसभामा धामका पदाधिकारी, आजीवन सदस्य, स्थानीय बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
साधारणसभामा धामका सचिव दिनेश कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा धाममा भएका गतिविधि, संरचनागत सुधार, धार्मिक कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए। त्यसैगरी कोषाध्यक्ष चन्द्रावती थारुले आर्थिक वर्ष २०८१र०८२ को आय–व्यय विवरण सार्वजनिक गर्दै धामको कुल पाँच लाख ६९ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार भएको बताएकी थिइन् ।
कार्यक्रममा धामका अध्यक्ष लक्ष्मण रायमाझीले रामदतिवन धामको दीर्घकालीन विकास, संरक्षण तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आगामी रणनीतिहरू प्रस्तुत गरेका थिए। उनले धामको प्रचारप्रसार, पूर्वाधार विकास र धार्मिक गतिविधिहरूलाई अझ व्यवस्थित बनाउने योजनाबारे जानकारी गराउँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा धामका संरक्षक एवं वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले रामदतिवन धाम राज्यकै महत्वपूर्ण सम्पत्ति र गहना भएको उल्लेख गर्दै यसको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले स्थानीय आर्थिक गतिविधि र पर्यटन विकासमा समेत टेवा पुग्ने बताएका थिए ।

धामका भोलेबाबा कृष्णचरण दासले आफूले विगत दुई दशकदेखि धामको संरक्षण र सेवामा समर्पित रहँदै आएको स्मरण गर्दै धामको सौन्दर्यकरण तथा व्यवस्थापनमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले धामलाई अझ आकर्षक र भक्तजनमैत्री बनाउन स्थानीय समुदाय, सरोकारवाला निकाय र भक्तजनहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकार बाबुराम रायमाझी र प्रेम पाण्डेले रामदतिवन धामको प्रभावकारी प्रचारप्रसार गरी यसलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।

धामका अध्यक्ष लक्ष्मण रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। उपाध्यक्ष कमल बेल्बासेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव दिनेश कार्कीले गरेका थिए।
हाल रामदतिवन धाममा ५५ जना आजीवन सदस्य आबद्ध रहेका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जंगलको बीचमा अवस्थित यो धाम पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वाणगंगा–७ को खारखानी दिलपार्कबाट करिब ७ किलोमिटर उत्तर तथा वाणगंगा–९ को पडरियाबाट करिब ३ किलोमिटर दक्षिणमा रहेको छ।
धार्मिक विश्वासअनुसार भगवान रामले वनवास जाने क्रममा यस क्षेत्रमा पाइला टेकेको बिश्वास रहिआएको छ। सोही कारण यहाँ आज पनि भगवान रामको पाइला हेर्न भक्तजनहरु आउने गर्दछन। यही ऐतिहासिक तथा धार्मिक महत्वका कारण धाममा विशेषगरी महाशिवरात्रि र बोलबम पर्वका अवसरमा टाढा–टाढाबाट भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गरेको धाम समितिका अध्यक्ष रायमाझीले जानकारी दिए।
स्थानीयवासी तथा सरोकारवालाहरूले रामदतिवन धामलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गरी राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : १६ जेष्ठ २०८३ शनिबार ००:००  ९ : २९ बजे