७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लामो खडेरीले कृषि क्षेत्र प्रभावित, लुम्बिनीमा हुन सकेन् पर्याप्त रोपाइँ



बुटवल ।
असार पहिलो सातासम्मको खडेरीले गर्दा लुम्बिनी प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । साउन २ गतेसम्म लुम्बिनीमा ६५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यसपटकको लामो खडेरीले कृषि क्षेत्र प्रभावित भएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६४।९ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिए । समयमै पानी नपरेपछि प्रदेशका अधिकांश भूभागका किसानले ढिलोगरी रोपाइँ शुरु गरेको उनले बताए ।

लुम्बिनीमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै धान खेती कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा हुने गरेको छ । लुम्बिनीमा असार २९ गतेसम्म सबैभन्दा धेरै प्यूठानमा रोपाइँ भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए ।

कहाँ कति भयो रोपाइँ रु

नवलपरासी पश्चिममा धान रोपाइँ हुने २० हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये १४ हजार ३५० हेक्टर अर्थात् ७० प्रतिशत रोपाइँ भएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टर अर्थात् ७५ प्रतिशत रोपाइँ सकिएको छ । कपिलवस्तुमा धान उत्पादन हुने ७० हजार ७० हेक्टर क्षेत्रफलमध्ये ४५ हजार ५४६ हेक्टर अर्थात् ६५ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, पाल्पामा ८ हजार २ सय १० हेक्टर क्षेत्रफलमध्ये ६ हजार ५६८ हेक्टर अर्थात् ८० प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा धान उत्पादन हुने ८ हजार ६७० हेक्टर क्षेत्रफलमध्ये ५ हजार २०९ हेक्टर अर्थात् ६० प्रतिशत रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए ।

त्यस्तै, दाङमा कुल धान उत्पादन हुने ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर अर्थात् ३० प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ३२९ हेक्टर अर्थात् ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

यसैगरी, रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४५२ हेक्टर अर्थात् ९६ प्रतिशत रोपाइँ सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८५० हेक्टर अर्थात् ४५ प्रतिशत रोपाइँ सकिएको छ । बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टर अर्थात् ७४ प्रतिशत रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए ।

सबैभन्दा कम धानखेती हुने रुकुम पूर्वमा ९० प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने एक हजार ४ सय १९ हेक्टरमध्ये एक हजार २७७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

ढिलागरी मनसुन शुरु भएकाले असार सकिए पनि यस वर्ष अझै ३५ प्रतिशत खेतमा धान रोप्न बाँकी नै रहेको निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले बताए । ‘लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर धान रोपाइँ ढिलो सुरु भएको थियो’ उनले भने, ‘केही ठाउँमा खडेरीकै कारण किसानले समयमै धानको बिउ राख्न नपाउँदा रोप्न ढिलाइ भएको हो ।’

प्रकाशित मिति : ३ श्रावण २०८० बुधबार ००:००  ७ : ४८ बजे