१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी



काठमाडौँ ।
जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९/८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।

प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ ।

प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्‍याक नुन आयात हुने गर्दछ ।

कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिनुभयो ।

उहाँले प्रत्येक नयाँ आर्थिक वर्षमा साउनदेखि नयाँ टेन्डरका लागि आह्वान गरिने भएकाले नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाण्डौ पठाइ सकिएको पनि बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०८० बुधबार ००:००  ३ : २९ बजे