१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णनगर भन्सारः पक्राउ पूर्जी सार्वजनिक गरेर भगाइयो आरोपी



कृष्णनगर ।
थुनुवाहरुको धरौटीमै कमिशन खाइदिएको आरोप लागेका भन्सार अधिकृत विकास उपाध्यायले कार्यालयको गोप्य कागजात सार्वजनिक गरेपछि एक आरोपी फरार भएका छन् ।

आफूले राम्रो काम गरेको भन्दै केही स्थानीय पत्रकारहरुलाई कार्यालयमा रहेको पक्राउ पूर्जी कागज सार्वजनिक गराएका थिए । त्यस लगत्तै पक्राउ पूर्जीमा नाम रहेका कुशहवाका सुरेन्द्र तेली फरार भएका हुन् ।

भन्सार श्रोतका अनुसार पक्राउ पूर्जी पक्राउ पर्ने आरोपीलाई दिनुपर्ने हो वा जारी भएको पूर्जी या अनुसन्धान अधिकारी वा प्रहरीसम्मलाई दिन सकिन्छ । असार १९ गते जारी पक्राउ पूर्जी २० गते सार्वजनिक गरेकै कारण दुई साता देखि तस्करीमा संलग्न तेली फरार बनेका हुन् । अर्धन्यायिक निकाय रहेको भन्सार अनुसन्धानको जिम्मा सामग्री मूल्याङ्कन गर्ने अधिकारीलाई लगाउँदा यस्तो समस्या आएको भन्सारकै कर्मचारीहरु बताउँछन् ।

असार १४ गते कृष्णनगर भन्सार नजिकैको कोटीया सिमाना नजिकै भन्सार छलेर ल्याएका चप्पलसहित दुई जनालाई कपिलवस्तु अनुसन्धान प्रमुख नरेन्द्र गिरीले भन्सारलाई बुझाएका थिए । दुई जना थुनामा छन् भने आरोपी तेली फरार छन् ।

श्रोतका अनुसार तेली र भन्सार अधिकृत विकास उपाध्याय बीच राम्रो सम्बन्ध रहेको छ । उपाध्यायकै सेटिङमा सुरेन्द्र तेलीले त्यस क्षेत्रबाट चप्पल तस्करी गर्दै आइरहेको बताइन्छ । तेलीलाई भगाउनकै लागि पक्राउ पूर्जी सार्वजनिक गरिएको भन्सार श्रोतकै दाबी छ ।

भन्सार अधिकृत उपाध्यायले २२ गते ३ जनाको धरौटी बापतको रकम मध्ये रु एक लाख ५२ हजार ४ सय रकम खाएको आरोप पीडितले लगाउँदै आएका छन् । पीडित मध्येका नागेन्द्र ठाकुरले भन्सार अधिकृत विकास उपाध्यायले ऐजेन्ट अंगद त्रिपाठी मार्फत लिएको धरौटी रकम ७६ हजार २ सय मध्ये २५ हजार ४ सयको भौचर दिएर अरु रकम खाएको बताए ।

रकम माग्न जादा समाचार लेख्नेसँग माग्न जानु भन्दै धम्क्याउने गरेको अर्का पीडित रमेश यादवले बताए । भन्सार अधिकृत स्थानीय भएकै कारण प्रमुख भन्सार अधिकृत गगन बहादुर विक समेत यस घटनाबारे केही बोल्न सकेका छैनन् ।
-जनआस्था साप्ताहिकबाट

प्रकाशित मिति : ६ श्रावण २०८० शनिबार ००:००  १२ : ३९ बजे