१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार घिमिरेलाई रेडियो मायादेवीमा स्टेसन म्यानेजरकोे जिम्मेवारी



कपिलवस्तु । नव छहारी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज बाणगंगाको स्टेसन म्यानेजरमा पत्रकार हरि घिमिरे नियुक्त भएका छन् । रेडियोको आन्तरिक संचालक समितिले स्थापनाकालमा रेडियोको स्टेसन म्यानेजर भई बिचमा निश्क्रिय रहेका पत्रकार चन्द्रकान्त न्यौपानेलाई पुनः सम्पूर्ण दायित्व हस्तान्तरण गरेपछि न्यौपानेले घिमिरेलाई स्टेसन म्यानेजरमा नियुक्त गरेका हुन् ।

उनलाई न्यौपाने र नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डेले खादा लगाएर आइतबार स्वागत गरेका थिए । कामकै शिलशिलामा आफू हाल काठमाण्डौमा रहेको भए पनि रेडियोलाई पनि समय दिने बताउँदै न्यौपानेले आन्तरिक प्रशासनिक, कर्मचारीको खटनपटन लगायतका सबैको जिम्मेवारी घिमिरेलाई नै दिइएको बताए ।

न्यौपानेले भने ‘निजि रेडियोको केन्द्रिय सदस्य भइसक्नु भएका घिमिरे एक रेडियोमा सफल म्यानेजर भइसक्नु भएको छ । उहाँ प्राविधिक र बजार क्षेत्रबाट रेडियो कर्ममा होमिनु भएका घिमिरले छोटो समयमा पत्रकारितामा राम्रो व्यक्तित्व निर्माण गरिसक्नु भएको छ । उहाँ पत्रकारिताकै विद्यार्थी पनि हुनुहुन्छ । रेडियोलाई घिमिरेले नयाँ गति दिनेमा विश्वस्त छु ।’

आफूले रेडियो छोडेपछि पछिल्लो केहि समय रेडियोको गुणस्तरीयता खस्केको श्रोता र शुभ चिन्तकबाट गुनासो आएकाले अब त्यसो हुन दिइने छैन न्यौपानेले भने ‘हरि जिको प्रशासनिक नेतृत्वले फेरि गति लिने छ । श्रोतासामु रेडियोले फेरि नयाँपन दिने छ । सबैको सहयोग हुने विश्वास गरको छु ।’

महासंघका सचिव पाण्डेले पनि घिमिरे सक्षम पत्रकार भएकाले रेडियो हााँकेर लैजाने विश्वास ब्यक्त गरे । उनले समुदायका पछि परेका आवाजलाई केन्द्रमा राखेर रेडियोका समाचार तथा कार्यक्रम निर्माणमा जोड दिएका छन् ।

नयाँ जिम्मेवारी ग्रहण गर्दै घिमिरेले यस क्षेत्रको अब्बल रेडियोको रुपमा रेडियो मायादेवीलाई समुदायमा फेरि स्थापित गराउने बताए । ‘रेडियोमै जन्मे हुर्केको ब्यक्ति हुँ । रेडियोमा धेरै लगानी भइसकेको छ । त्यसैले रेडियोलाई उत्कृष्ट बनाउने हरदम प्रयास गर्नेछु । विश्वास गरी जिम्मेवारी दिएकोमा न्यौपाने र रेडियोका अरु संचालक ज्यूलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु,उनले भने ।’

रेडियोका संचालक समितिका अध्यक्ष नन्द किशोर शुक्ल र उपाध्यक्ष टेकेन्द्र क्षेत्रीले हरि घिमिरे अर्को रेडियोको सफल म्यानेजर भइसकेको हुनाले नयाँ जिम्मेवारी पनि कुशलतापूर्वक निभाउन सक्ने विश्वास गर्दै बधाई र शुभकामना दिएका छन् । हरिको सफलताको लागि आफूहरुको पूर्ण सहयोग हुने उनीहरुले बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको हाल प्रेस सल्लाहाकार रहेका घिमिरेले गत वर्ष बाणगंगा नगरपालिकाले प्रदान गरेको नगर विकास पत्रकारिता र पर्यटन पुरस्कार समेत पाएका थिए । घिमिरेसंग रेडियोसंगै अनलाइन र छापा पत्रकारिताको पनि अनूभव छ । घिमिरे पूर्वाञ्चल विश्वविद्यालयमा मिडिया टेक्नोलोजी विषयमा स्नातक गर्दैछन् ।

प्रकाशित मिति : ७ श्रावण २०८० आइतबार ००:००  ५ : ०१ बजे