१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु र दाङमा एक हजारभन्दा बढीले पाए नयाँ दृष्टि



बुटवल ।
कपिलवस्तु र दाङमा एक वर्षमा एक हजारभन्दा बढीले नयाँ दृष्टि पाएका छन् ।

नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा कपिलवस्तुको बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको ’उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।

मोतियाविन्दुका कारण अन्धोपन हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य नीतिलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले पालिकासँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिए ।

उनले पैसाको अभावमा कोही पनि नागरिकले अनाहकमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उज्यालो अभियानको मुख्य उद्देश्य रहेको बताए ।

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौरले दाङका तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा एक सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगीशरणमा एक सय मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको राप्ती आँखा अस्पताल रक्षाचौरका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतमले बताए ।

उनका अनुसार लमही आँखा अस्पतालले लमही नगरपालिकाभित्रका चार सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना र रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  ९ : २१ बजे