१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाईपालनबाट मासिक लाख बचत गर्छन् पौडेल



जानु पाण्डे, कपिलवस्तु ।
‘धेरैले विदेशको कमाइले घरजग्गा जोड्छन् । गाउँबाट राजमार्ग छेउमा बसाइ सर्छन् । साथीभाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिन्छन् । तर म आत्मनिर्भर हुन खोजेँ । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेँ । अहिले मासिक १ लाख बचत भइरहेको छ’ कपिलवस्तु बाणगंगा नगरपालिका –६ भगलापुरका झविन्द्र पौडेलले बताउनुभयो ।

पौडेल वैदेशिक रोजगारीको सिलसिलामा २८ महिना कतार र आठ वर्ष कुवेत बस्नु भएको थियो । सन २००९ मा उहाँ कतार जानुभएको थियो । एक दशकको वैदेशिक रोजगारीबाट खर्च कटाएर बचेको करिब २० लाख बढी लगानीमा २०७५ सालमा डालु पशुपालन फर्म सञ्चालन गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘सहरबजारमा घर घडेरी जोडेको भए फेरि बिदेसिनु पर्ने थियो । अहिले विदेशमा श्रमिक हुनुभन्दा राम्रो जीवनशैली छ । १२ वटा गाईबाट व्यवसाय सुरु गरेँ । उन्नत जातका आठ वटा जर्सी गाई र चार वटा होलिस्टोन गाई खरिद गरियो । १६ लाख रुपियाँ खर्च भयो । आम्दानी भएपछि हाल २५ वटा गाई छन् । यो वर्ष लम्पीस्किन रोगका कारण ३ वटा दुहुनो गाई मरे ।’

पौडेलले दैनिक १ सय २५ लिटर दुध उत्पादन गर्दै आउनुभएको छ । एउटा गाईबाट दैनिक औसत १५ लिटर दूध उत्पादन हुने उहाँले बताउनुभयो । उत्पादन भएको दूधमा औसत ४.२ फ्याट र ८ एसएनएफ रहेको बताइन्छ । सहकारी संस्थाले सो दूध ६५ रुपियाँ लिटरमा खरिद गर्दैआएको उहाँले बताउनुभयो । कोभिड समयमा धेरै घाटा सहनु परेको उहाँले बताउनुभयो । अहिले त्यो बेलाको घाटा कटाएर मुनाफामा रहेको पौडेलले बताउनुभयो ।

पौडेलले पशुपालन गर्दा राज्यबाट खासै सहयोग नभएको गुनासो समेत गर्नुभयो । उहाँले बाणगंगा नगरपालिकाबाट भकारो सुधारका लागि ३० हजार र गोठ सुधारका लागि ५० हजार अनुदान पाएको उहाँले बताउनुभयो । उहाँले हाल ४५ लाख रुपियाँ लगानी गर्नुभएको छ । दुई कामदारलाई रोजगारी दिनुभएको पौडेलले २७ कट्ठा जग्गामा धानको सिजन बाहेकको समयमा बर्सिम र ५ कट्ठामा नेपियर जातको घाँस लगाउनुभएको बताउनुभयो । -गोरखापत्र

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  ९ : ४७ बजे