२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

फोहर हटेर चिटिक्क देखिन थाल्यो कृष्णनगर



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर बजार चिरिच्याट्ट बनेको छ । कुनै समय जिल्लाको सबैभन्दा फोहर देखिने कृष्णनगर बजार आजभोलि चिरिच्याट्ट देखिन थालेको हो । भारतीय सीमावर्ती यो बजार एकाएक सफा देखिन थालेपछि त्यस ठाउँ पुग्ने जो कोही दङ्ग देखिन्छन् ।

अर्घाखाँचीको शीतगंगाबाट किनमेलका लागि कृष्णनगर आएका बाबुराम शर्माले कृष्णनगरको मुहारै फेरिएको देख्दा दङ्ग परेको बताउँछन् । फोहरको दुर्गन्धले एकछिन बस्न नसकिने कृष्णनगरमा आजभोलि एक रात बसौ बसौ लाग्ने भएको शर्माले बताए ।

पूर्व-पश्चिम राजमार्गको चन्द्रौटा बजार देखि दक्षिणमा रहेको यो बजारमा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बजार सरसफाईमा आमुल परिवर्तन गरेका हुन् । दैनिक रुपमा फोहर संकलन गर्दै आएको नगरपालिकाले जसले बजार क्षेत्रमा फोहर फाल्ट उसलाई कारबाहीको डण्डा चलाउँदै आएको छ । नगर प्रहरी नै खटाएर बजार क्षेत्रलाई सफा राख्ने अभियान चलाएको नगर प्रमुख शाहले बताए ।

चन्द्रौटा-कृष्णनगर सडकखण्ड फोर लेनको बनिसकेको छ । कृष्णनगर क्षेत्र भित्रका सडक चौडा मात्र बनेका छैनन्, पक्की बनेका छन् । ढल निकाससहितको सडक बन्दा सिंगो बजारकै मुहार फेरिएको हो । संघीय सरकारको लगानीमा यहाँको भौतिक विकास भएको हो ।

पुरानो बजार रहेको कृष्णनगर भारत छिर्ने प्रमुख गन्तव्यस्थल हो । भारतीय रेल स्टेशन नजिकै रहेको कृष्णनगरबाट दैनिक हजारौ नागरिक नेपाल भारत आवतजावत गर्छन् । सरसामान किनमेलका लागि पनि यो बजार सर्वसाधारणको लागि प्रमुख गन्तव्य हो ।

आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय, नेपाल टेलिकम, क्यारेन्टाइन कार्यालय लगायतका प्रमुख सरकारी कार्यालय यहाँ रहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  ८ : ३१ बजे