१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ ?



काठमाडौं ।
पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । तर, आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दुध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर, लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन् ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दुध उमालेर खान सकिने बताउनुभयो । उहाँले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिनुभयो । डा. चन्द्र ढकालले आजसम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताउनुभयो ।

लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चौँरीमा देखिने गरेको छ । डा. ढकालले भेडा, बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताउनुभयो । यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दुध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ ।

यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ । डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिनुभयो । २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ ।

डा. ढकालले लम्पी स्किन एक किसिको भाइरसले लाग्ने संक्रामक रोग भएको बताउनुभयो । उहाँले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताउनुभयो । यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ । अहिले लम्पी स्किन भाइरसबिरुद्धको खोप स्थानीय पालीकामा उपलब्ध रहेको डा. ढकालले बताउनुभयो । संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उहाँले एउटा पशुले गर्दा हजारौं पशुहरु संक्रमित हुन सक्ने बताउनुभयो ।

महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भूमिका उल्लेखनीय रहने बताउनुभयो । बिरामी पशुलाई चरनमा लैजान नहुने उहाँको सुझाव छ । जैविक सुरक्षाको पालना गर्नुपर्ने भन्दै उहाँले पछिल्लो समय संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।

देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । डा. ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताउनुभयो । यो रोग मौसमसँग पनि जोडिएको छ । वर्षायाममा किराहरुको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरु बताउँछन् ।

संक्रमण भइहाले तत्कालै नजिकैको पशु कार्यालय, स्थानीय निकाय, पशु प्राविधिकहरुसँग सम्पर्क गर्न सकिने र यो रोग लागेपछि पशुको मृत्युको कारण ज्वरो रहेको विज्ञहरुको सुझाव छ । लम्पी स्किनबिरुद्ध अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको पशु सेवा विभागले जनाएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०८० शुक्रबार ००:००  ८ : ५१ बजे