१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँदर आतङ्क उस्तै, अर्घाखाँचीका किसानको मकै सखाप



अर्घाखाँची ।
अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।

किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन लागिपरेका छन् । ‘बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छौँ।’ सन्धिखर्क २ भलायडाँडाका ठाकुर शालिक पोख्रेलले बताउनुभयो ।

सन्धिखर्क ८ किमडाँडाकी उमकला बन्जाडेले बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो पोख्नुभयो ।

बाँदरबाट बाली जोगाउन उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएको किसान बताउँछन् ।

‘आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । खाना र खाजा खाने समय समेत पाइँदैन । बाँदर हेर्न बसेको ठाउँमै खानाखाजा पुर्याइदिनुपर्ने बाध्यता छ ।’ भेषराज बन्जाडेले बताउनुभयो ।

खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने गरेको छ ।

हिउँदको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा निक्कै सताउने गरेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वागला, डिभर्ना, भूमिकास्थानको धनचौर ढिकुरा, शीतगङ्गा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसो गाउँहरुमा बाँदरले निक्कै दुःख दिने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८० शनिबार ००:००  ७ : २६ बजे