१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बर्दियामा एक अर्ब रुपैयाँ लगानीमा ‘स्काई ब्रिज’ निर्माण गरिने



बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जोड्ने गरी नेपालको सबैभन्दा लामो ‘स्काई ब्रिज’ निर्माण हुने भएको छ ।

हात्तीसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेश सरकारले स्काई ब्रिज निर्माण गर्न लागेको हो ।

शनिवार ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदेशस्तरीय अनुभव आदानप्रदान एवं पैरवी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

‘बर्दिया विकासका पूर्वाधारमा पछाडि परेको छ । स्काई ब्रिजको निर्माण पछि यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको सङ्ख्या उल्लेख्य वृद्धि हुने अपेक्षा राखेका छौँ । भारत लगायतका अन्य देशहरुसँग सहकार्य गर्दै यहाँको प्रचारप्रसारमा सहयोग पुर्याउन लागि पर्छु’ उहाँले भन्नुभयो ।

पर्यटन प्रवर्द्धन गर्न तथा दुई पालिकालाई प्रत्यक्ष रुपमा जोड्नका लागि ब्रिज बनाउन लागिएको उहाँले बताउनु भयो । साथै उहाँले प्रदेशका सबै जिल्लामा बसोबास गर्ने जनजाति समुदायले घरमा बनाउने लोकल जाँड रक्सीको ब्रान्डिङ गरेर बिक्री गरी आयआर्जनमा सहयोग पुर्याउने बताउनु भयो ।

यस्तै, मानव र वन्यजन्तुबीच द्वन्द्व रहेको बर्दियामा घाँस, दाउराका लागि वन जङ्गलमा आश्रित परिवारलाई ग्यास तथा विद्युतीय चुलो दिन बजेट छुट्याइने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १४ श्रावण २०८० आइतबार ००:००  ४ : ४१ बजे