४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसमी पूर्वानुमानः अब केही दिन देशभर पानी पर्ने सम्भावना



काठमाडौँ ।
यस वर्ष जेठ १८ गतेदेखि आज आइतवारसम्ममा गएको वर्षको तुलनामा झन्डै १५ प्रतिशतले कम पानी परेको छ । गएको वर्ष जेठ १८ गतेदेखि साउन १४ गतेसम्ममा सात सय ५३ दशमलव १६ मिलिमिटर पानी परेकोमा यस वर्ष त्यही अवधिमा छ सय ४३ दशमलव दुई मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाले जनाएको छ ।

यस वर्ष आजसम्म परेको पानी मनसुन अवधिभर हुने सरदर वर्षाको तुलनामा ४३ दशमलव सात प्रतिशतमात्रै हो । नेपालमा मनसुन अवधि अर्थात् जेठ १८ देखि असार १३ गतेसम्ममा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुन्छ । यस वर्ष मनसुन शुरु हुने बेलैमा मौसमविद्हरूले सरदरभन्दा कम पानी पर्ने अनुमान गरेका थिए । अहिलेसम्म अनुमानअनुसार नै कम पानी परेको हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईं जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको तथ्याङ्कमा भने सरदरभन्दा बढी वर्षा भएको छ । ताप्लेजुङ, काठमाण्डौ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ । सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई हप्ता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक हप्ता राम्रोसँग वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । न्यून चापीय रेखा सरदर स्थानमा रहँदा मनसुन सक्रिय हुन्छ भने उत्तरतर्फ सर्दै जाँदा वर्षा हुने सम्भावना पनि बढ्दै जान्छ । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८० आइतबार ००:००  ८ : १८ बजे