४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बौद्ध धर्ममार्गीहरुले भनेः लुम्बिनी विकास कोषमा फौजदारी मुद्दामा नमुछिएका धर्म गुरु नियुक्त हुनुपर्छ



काठमाडौं ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ ।

कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । पत्रकार सम्मेलनमा तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौंलाख बुद्धका शिष्यहरु हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए ।

कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ ।

हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरु नियुक्तिको खण्डमा सिंगो बौद्धमार्गीहरुलाई लुम्बिनीमा उर्ताने उनको चेतावनी छ ।

त्यस्तै, नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तिकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरु आफन्त भर्ति गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८० सोमबार ००:००  ३ : २५ बजे