१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रामपुरका अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण



पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ ।

नगरपालिकाभित्र ७०२ घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।

तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पस लगायतका शैक्षिक संघसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । संस्थाले बिक्री गरेका घरघडेरीको सोमवार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ ।

नगरभित्रका ७८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते १६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते ३५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । ५ दशक अघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

नगरपालिकाका वडा नम्बर ५, ६ र ७ का ७८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनले जानकारी दिए ।

‘नगर सरकारले आन्तरिक खर्च व्यवस्थापन गरी छिटोछरितो काम सम्पन्न गरेर रसिदको भरमा भोगचलन गरेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको छ,’ उनले भने, ‘जग्गाधनी प्रमाण पुर्जा पाएपछि बैंक तथा वित्तीय संस्थामा पुर्जा राखेर विभिन्न व्यावसाय सञ्चालनका लागि ऋण लिन सहज हुने भयो ।’

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुर्जाको सोमवार नक्सा, श्रेस्ता हस्तान्तरण गरेका छन् । ११४ रोपनी ११ आना बराबरको घरघडेरीबापत ११ करोड ७७ लाख ९३ हजार बराबरको राजस्व नेपाल सरकारको खातामा जग्मा भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  १२ : २९ बजे