९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

लम्पी स्किन नियन्त्रणमा मन्त्रालय तात्यो, कार्तिक मसान्तभित्रै निःशुल्क खोप लगाइने



काठमाडौँ ।
देशभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि निःशुल्क रुपमा ‘गट पक्स’ भ्याक्सिन लगाइने भएको छ ।

छिमेकी देश भारत र चीनमा ‘गट पक्स’ भ्याक्सिन लगाएरै लम्पी स्किन रोग नियन्त्रणमा आएकाले नेपालमा पनि यही भ्याक्सिन निःशुल्क रुपमा लगाइने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी निवास बालुवाटारमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल, मन्त्रालयका सचिव डा। गोविन्द शर्मा, डा. दिपक खराल, पशु सेवा विभागका टिमसँग राखेको छलफलमा लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गट पक्स’ भ्याक्सिन लगाउने र त्यसका लागि तुरुन्तै भ्याक्सिन खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।

‘विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि वैकल्पिक उपायका रुपमा सिफारिस गरेका भ्याक्सिन तथा छिमेकी मुलुकहरुमा समेत प्रयोग गरिएका भ्याक्सिनको प्रयोग मार्फत प्रकोप नियन्त्रणका लागि गहन छलफल भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

भ्याक्सिन खरिदका लागि दुई दिनभित्र आवश्यक निर्णय गर्ने र छिमेकी मुलुकहरुमा प्रयोग भएको ‘गट पक्स’ आयात गर्न अनुमति दिने निर्णय भएको छ । उक्त छलफलमा मन्त्रालय मातहतका तीन वटै तहका स्रोत साधनको प्रयोग गरी प्राविधिकहरुलाई लम्पि स्किन रोग नियन्त्रणमा लगाउनेसमेत निर्णय भएको छ ।

आगामी कार्तिक मसान्तभित्र देशभरका पशुहरुमा निशुल्क भ्याक्सिनेसन गरिने भएको छ । साथै सरकारले हाल लम्पि स्किन रोगबाट भएको क्षतिको लागि राहत क्षतिपूर्ती उपलब्ध गराउने भएको छ । त्यसका लागि छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  १२ : ५१ बजे