१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सल्यानको गोलभेँडाले भाउ पायो, किसान मालामाल



दाङ ।
सल्यानका किसानले अहिलेसम्मकै धेरै भाउमा गोलभेँडा बिक्री गरेका छन् । बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले आज मङ्गलवार गोलभेँडा किलोको एक सय ४० रुपैयाँमा बिक्री गरेका हुन् । यो मूल्य अहिलेसम्मकै धेरै रहेको किसानले बताएका छन् ।

मङ्गलवारको हाट बजारमा एकै दिन ६० लाख ४८ हजार रुपैयाँ बराबरको तरकारी र फलफूल कपुरकोटबाट बिक्री भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार दुई सय ८९ किलो तरकारी फलफूल एकै दिन बिक्री भएको हो । जसमध्ये ४३ लाख रुपैयाँ बढी रकम गोलभेँडा बिक्रीबाट मात्रै आम्दानी भएको छ । किसानले ३१ हजार तीन सय किलो टमाटर बिक्रीबाट ४३ लाख तीन हजार सात सय ५०, चार हजार पाँच सय ६५ किलो काउली बिक्रीबाट एक लाख ९४ हजार १२, तीन हजार आठ सय ९५ किलो भेडे खुर्सानी बिक्रीबाट तीन लाख एक हजार आठ सय ६५ र ११ हजार सात सय किलो बन्दागोभी बिक्रीबाट दुई लाख चार हजार सात सय ५० रुपैयाँ आम्दानी गरेका छन् ।

मेहनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसान हर्षित देखिन्थे । झन्डै दुई क्विन्टल गोलभेँडा बिक्री गर्नुभएकी कपुरकोट गाउँपालिका–३ की रामकली विकले यसैगरी राम्रो मूल्य पाए किसानको मेहनत सार्थक हुने बताउनुभयो ।

कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मङ्गलवारको तरकारी बजारमा गोलभेँडा प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म, पुरानो अदुवा एक सय ४० देखि एक सय ५० रुपैयाँसम्म बिक्री भएको हो ।

त्यस्तै अकबरे खुर्सानी प्रतिकिलो एक सयदेखि एक सय पाँच, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैयाँमा बिक्री भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणि खड्काले जानकारी दिनुभयो । साथै सिमी प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा बिक्री गरेका किसानले स्थानीय काँक्रो ५० देखि ५५ र उन्नत जानको काँक्रो १० देखि १२ रुपैयाँमा बिक्री भएको छ ।

कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ जिल्लाका साथै नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, कैलालीलगायतका शहरमा जाने गरेको छ ।

कपुरकोटमा हप्ताको मङ्गलवार र शुक्रवार दुई दिन तरकारी बजार लाग्ने गर्छ । अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका छ वटै वडामा रहेका तरकारी सङ्कलन केन्द्रमा किसानले आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८० बुधबार ००:००  ८ : ०६ बजे