१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार शुद्धीकरण राजनीतिक पूर्वाग्रह राखियो, प्रेस चौतारी लुम्बिनीको आपत्ती



बुटवल ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ ।

बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ ।

विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गर्ने गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिनुभयो ।

प्रदेश समिति बैठकल राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्चाउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ ।

राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफुहरुको असहमती रहेको महासचिव निरु गौतमले बताउनुभयो ।

बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कडेंलले चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै संगठनलाई अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गर्नुभयो ।

बैठकमा पार्टीका प्रचार विभाग लुम्बिनीका प्रमुख डिआर घिमिरे, प्रेस चौतारी विभाग लुम्बिनीका इञ्चार्ज मोहन चापागाइँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इञ्चार्जहरु रुद्र सुवेदी, टिका बस्नेत, पार्वती पाण्डे, कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिनुभयो ।

बैठकमा प्रेस चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज भुसाल, मिलन विक, अमृत गिरी, टिआर शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरीमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गर्नुभयो ।

प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अधयक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, कपिलवस्तु अध्यक्ष जानु पाण्डे, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनी लगायतले महासंघले मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ती जनाउनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०८० बुधबार ००:००  ९ : ०९ बजे