१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषिमन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तव बीच भेटघाट



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधबार मन्त्री भुसाल र राजदूत श्रीवास्तव बीच भेटवार्ता भएको हो ।

भेटमा क्रममा मन्त्री भुसालले हालै भएको आफ्नो भारत भ्रमणमा भारत सरकारले गरेको स्वागत प्रति धन्यवाद व्यक्त गर्दै भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन तहमा लैजानुपर्नेमा जोड दिए ।

भेटघाटमा मन्त्री भुसालले भारत भ्रमणका क्रममा कृषिवस्तुको निकासीमा सहजिकरण, रासायनिक मल ढुवानीको क्रममा विशखापट्नममा गर्नुपर्ने सहिजकरण, लम्पी स्किन नियन्त्रणमा गरेका प्रतिवद्धता कार्यान्वयनबारे स्मरण गराएका थिए ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुने बताए । त्यसका लागि नेपालको तर्फबाट तत्काल गर्नुपर्ने र दीर्घकालिन गर्नुपर्ने कामको प्राथमिकिकरण गरी पठाउनुपर्नेमा जोड दिए । नेपालबाट जाने प्रस्तावहरु बुँदागत रुपमा जादा कार्यान्वयन गर्न सहज हुने बताए ।

राजदूत श्रीवास्तवले रासायनिक मल ढुवानी गर्ने भेसलको साइसमा वृद्धि गर्ने र नेपालमा रासायनिक मलको कारखाना खोल्ने हो भने भारतलाई निमन्त्रणा गरे प्राविधिक सहयोग रहने प्रतिवद्धता जनाए ।

नेपाल र भारतको भैगोलिक अवस्था समान रहेकाले दुबै देशको बालीनाली एउटै हुने हुँदा मिलेरै सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । नेपाललाई गाईँ, च्याङ्ग्राको उच्च नश्लका लागि सहयोग गर्ने र कफिको उन्नत जातको विरुवामा सघाउने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ११ : ३१ बजे