१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

निराशा चिर्ने विचारले नै हो



दीपक अनुरागी ।
विचारले खाना दिन्छ ? कहाँ छ विचार ? के हो विचार ? नेकपा (एमाले) बाट विद्रोह गरेपश्चात चोकचौतारामा गरिने अनगिन्ती प्रश्न यही हो । एमालेभित्र लामो श्रृङ्खला छ, जहाँ अपमानका असीमिति घटनाहरु छन् ।

आफूले जन्माएको, हुर्काएको पार्टीभित्रै नेताहरु अपमानित हुन पुगे । विचारधारात्मक प्रश्नको हल–हुल र भीड हेरेर गर्न थालियो । जहाँ भीड र हुल छ, त्यो नै विचार हो भन्ने एक समूह जब लाग्यो एमालेमा विद्रोहको बीउ रोपियो ।

विचारले पार्टी बन्छ, यो दुनियाँलाई थाहा छ । राजनीतिक दर्शनका दुई प्रष्ट रुप छन् । भौतिकवादी र अभौतिकवादी । यी दुई धारमा विश्वको राजनीति हिँडेको पाइन्छ । यी धारमा टेकेर राजनीतिक दलहरु जन्मिएका छन् । कम्युनिष्टहरु भौतिकवादमा विश्वास गर्छन् । कम्युनिष्टको धार भौतिकवाद हो । जुन धारमा टेकेर पार्टीहरु गठन भएका छन् ।

अहिले नेपालमा विचारले केही गर्न सकेन् भन्ने अचम्मको भाष्य मौलाउँदो छ । यहाँसम्मकि जेलनेल, चरम यातना खाएका पहिलो पुस्तामा गनिने नेताहरुमा पनि विचारको प्रश्नमा केही भएन भन्ने नै छ । आफैले खनेर आफैँ हिडेको बाटो गलत भएको हो कि पुग्नुपर्ने गन्तव्यमा पुग्न नसकिएको हो प्रष्ट विषय आएको छैन् ।

‘रिसको बेला कसैले वेद पढ्दैन्’ भन्ने उखान चर्चित छ । राजनीतिमा पनि निरासाका बेला कसैले विचार सुन्दैन् । आज विकल्प खोज्नेहरु जति छौं, विचारबाटै विकल्प खोज्नुपर्छ । त्यो नै गतिलो यात्रा हो । मुलुक विचारबाटै बन्ने हो भने, विचारले नै नेतृत्व गर्नुपर्छ ।

पहिलो पुस्तासँग संर्घषका विशाल पाठशालाहरु छन् । हाम्रो पुस्ताका लागि ती केवल एकादेशका कथा नै हुन् कि जस्ता लाग्ने । राणाहरु विरुद्ध लडेर ल्याएको प्रजातन्त्र हुर्कन पाएन् ।

विसं २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा आउँदा निरङ्कुशतामा परिणत भयो । विसं २०४६ सालसम्म आईपुग्दा पञ्चायतको विकल्प प्रजातन्त्र नै हो भनेर लड्नेहरुका कथा कारुणिक छन् । यो बीचमा कयौंले ज्यानको आहुति दिए । कयौं कैदीबन्दीको रुपमा जीवन कटाए । उत्तिकै घाइते अपाङ्ग भएभने अधिकांशका घरमा कहिल्यै खुशीले वास गरेन् ।

यति लामो लडाइँमा होमिएको संघर्षशिल पुस्ता हामीसँगै छ । प्रजातन्त्र स्थापना पश्चात जनजिविकाका सवाल उत्तिकै पेचिला बन्दै गए । गरिबीका खाडल बढ्दै गए । यसैको उन्मुलनको नारा तय गर्दै नेकपा ९माओवादी० सशस्त्र संघर्षमा होमियो । जनवादी राज्य स्थापनाको संकल्प गर्दै बर्गीय असमानता हटाउने मुलभूत माओवादीको लक्ष्य थियो ।

१० बर्षसम्म कठोर संघर्ष गरेको यो पुस्तापनिसँगै छ । ज्ञान, विज्ञान र प्रयोगका हिसाबले अग्रपंक्तिमा रहेको पहिलो पुस्तासँग हातमा हात, काँधमा काँध मिलाएकाहरु शहरदेखि दुरदराजसम्म छन् ।

कुनै न कुनै पार्टीसँग सबैको बलियो नाता जोडिएको छ । संघर्षका अनेक रुपहरुसँग पैठेजोरी खेल्दै आएको यो पुस्ताको हातमा देशको तालाचाबी समेत छ । तरपनि आज सन्तृष्टहरु नगन्य छन् । असन्तृष्टहरु चोकचौराह जताततै भेटिन्छन् ।

हिजो आदर्श मानेका नेताले देशको बागडोर सम्हाल्दा आशा भन्दा निरासा किन बढ्यो रु जुन व्यवस्था ल्याएका छौं, जहाँ हजारौंको रगत बगेको छ । यतिसम्मको स्थिति छ, हिजो क्रान्तिमा होमिने भन्दा क्रान्तिमा संलग्न नभएका व्यक्ति धैरै हदसम्म आशावादी देखिएका छन् ।

निरासाका कालो बादल मडारिनुको कारण समयमा खोज्न सकिएन् भने देशले ठूलै मूल्य चुकाउने निश्चित छ । विचारको प्रश्न व्यवहारमा कि केवल सिद्धान्तमा ? आजको वहस यहाँ हुनुपर्छ ।

विचारले खाना दिन्छ, कहाँ छ विचार ? के हो विचार भनेर गरिने प्रश्नको उत्तर खोज्नुनै आजको प्रमुख राजनीतिक समाधानको उपाय हो ।

विचार साहित्य होइन् । जहाँ नौ रसले भरिएर कुदिएको साराशं होस् । यो त व्यवहारिक जीवनको असल अभ्यास हो । व्यवहार बिनाको बिचार, विचार बिनाको पार्टी र बिचार विनाको देश निरङ्कुश हुन्छ ।

वर्गीय असमानताका अन्त्यका लागि आजसम्म गरिएका संघर्ष के हचुवाको भरमा भएका थिए रु? आज लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गर्दासम्मका राजनीतिक संघर्ष मामुली विषय हुन् ? सत्तामा पुग्नका लागि विचारको मात्र कुरा गरिएको थियो ?

फेरि विचार विचार त भनिरहेका छौं । तर देशको अवस्था पनि त ठिक छैन् नि । आज दिनहुँ युवा खाडीमा पुगिरहेका छन्, गरिबीले आकाशै चुम्न लागिसक्यो । शिक्षा, स्वास्थ्य नागरिकको पहुँच भन्दा बाहिर जाँदै छ । बेरोजगारको खाडल डरलाग्दो छ । गरिबी दिनहुँ बढिरहेको छ । राजनीतिक स्थायित्व केवल भन्ने कुरा मात्र भएको छ ।

राजनीतिक अस्थिरताको चक्रव्यूहमा देश परिरहेको छ । भ्रष्ट्राचार बढिरहेको छ । कमिशनतन्त्र मौलाउँदो छ । ‘सरकारी काम कहिले जाला घाम’ को उखान धुव्रसत्य झै लाग्ने गर्छ । यस्तो मडारिहएको उकुसमुकुसका बीच विचार विचार भन्नु ठीक होला त ? संघर्षमा होमिएका बहुसंख्यक अघिल्लो पुस्ता यहीँ परिवेशमा गुज्रन बाध्य छ ।

आफैँ संघर्षमा होमिएको बहुसंख्यक पुस्ताले निरासा देख्नु र संघर्षलाई कथा जस्तै ठान्ने अर्को पुस्ताले आफ्नो देशमा केही पनि देख्न नसक्नु बीचको अयौन्याश्रित सम्बन्ध डरलाग्दो बन्दै गएको छ । राजनीति नै मुलबाटो हो भनेर हिड्नेहरुले विचार बाड्नु त स्वभाविक हो । तर बाँडेको विचार सुन्ने तप्का बढी नै असन्तुष्ट भएपछि के पो लाग्छ र ?

संघर्षको अगुवाइ गर्ने पुस्ता र संघर्षका हरेक कालखण्डमा काँधमा काँध, साथमा साथ दिएका पुस्ता बीचको गहिरो खाडल नपुर्ने हो भने विचारका कुरा गर्ने बीचको दुरी धर्ती र आकाश जत्तिकै दुर हुने पक्का छ । यस्तो स्थिति आयो भने यो मुलुकको स्थिति के होला ?

विचारविहीन व्यक्तिको हातमा मुलुकको तालाचाबी पुग्दा बुर्जुवाहरुको हालिमुहाली बढ्छ भने बर्गीय समानताका लागि जतिपनि संघर्ष भएका छन् ती सबै गुम्ने खतरा हुन्छ ।

‘रिसको बेला कसैले वेद पढ्दैन्’ भन्ने उखान चर्चित छ । राजनीतिमा पनि निरासाका बेला कसैले विचार सुन्दैन् । आज विकल्प खोज्नेहरु जति छौं, विचारबाटै विकल्प खोज्नुपर्छ । त्यो नै गतिलो यात्रा हो । कसै प्रतिको रिस विचारमा नपोखौँ ।

वैज्ञानिक समाजवादी स्थापनाको लागि कठोर संघर्ष गरेकाहरू झनै यो विषयमा गम्भीर बन्नै पर्छ । विचार नबोक्नेहरुलाई छाड्नु अनिवार्य छ । तर, यी छाड्दै गर्दा बुर्जुवा नबोकौं । समाजवादी विचार बोक्नेहरु नै रोजौं । संख्यामा कम होलान्, भीड कमै होला अन्ततः विचार पवित्र छ भने एक दिन समयले पक्कै मूल्याङ्कन गर्छ नै ।

महान् दार्शनिक कार्लमाक्र्सले सन् १८४८ सालमा लेखेको कम्युनिष्ट घोषणा पत्र र कम्युनिष्ट दशर्नको प्रयोग सन् १९१९ मा रसियामा बल्ल प्रयोग गरिएको हो । यति लामो समयको धैर्यताले मात्र रसियामा समाजवादी क्रान्ति सम्पन्न भएको हो । हामीसँग यस्ता वैज्ञानिक तथ्य र प्रमाण छन् ।

पहिलो पुस्ता विग्रदा सुधार्ने दोस्रो पुस्ता हुनुपर्ने हो । विडम्वना हामीसँग दोस्रो पुस्ता झनै खराब छ । दोस्रो पुस्ताका कयौं नेता आफ्नो स्वार्थमा मात्र केन्द्रित छन् । पहिलो पुस्तालाई मिल्नै नदिने दोस्रो पुस्ता हुन् । आफू आफू बीच नै एक अर्कालाई स्विकार गर्ने वातावरण उनीहरुसँग छैन् । पहिलो पुस्ताको फेरो तानेर आफू शक्तिमा पुग्छु भन्ने पूर्ण भ्रममा यो पुस्ता छ । समाजको निरासा प्रति यो बेखबर छ ।

पार्टी विभाजनको रुपमा आउँदासमेत यो पुस्ता रोक्ने प्रयत्न गर्दैन् । मुल पार्टी विभाजनले केवल पार्टीलाई मात्र होइन् संगो देशलाई घाटा हुन्छ भन्ने यो पुस्तालाई हेक्का छैन् । पार्टी विभाजनको असरले मुलुकले कति धेरै मूल्य चुकाउन पुगेको छ, एक पटक सोचौं त ।

कांग्रेस कांग्रेस जस्तो, कम्युनिष्ट कम्युनिष्ट जस्ता भएका भए यो मुलुकमा यति धेरै निरासा आउने थिएन । २०४८ सालको चुनाव दुईतिहाइ आउँदा कांग्रेस भित्रको आन्तरिक द्वन्द्व र त्यस्तै, २०७४ मा कम्युनिष्ट पार्टीले बहुमत ल्याउँदा उनीहरुभित्रको लडाइँ साँच्चिकै रोचक छ । यो दोस्रो पुस्ताको कुनै हस्तक्षेप देखिएन् । व्यक्तिगत लाभ नै दोस्रो पुस्ताको प्रमुख विषय हुँदै आएको छ ।

आजको समस्या नेता र पार्टीको हुँदै होइन् । नेता बेग्रेल्ती छन्, पार्टी उत्तिकै शक्तिशाली छन् । तर पनि जनतामा निरासाले छाएको छ । आज कुनै अमूक व्यक्तिमाथि सारा समस्याको समाधान खोजिदै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु स्वयं भन्दै छन्, ‘ठूला दलहरु विग्रेकै कारण हामी जन्मिएका हौं ।’ यत्तिको साँचो बोल्नेहरु पनि राजनीतिमा छन् । तर पुराना भनिएका पार्टीका नेताहरुको बुद्धि फिर्दै फिरेन् ।

पहिलो पुस्ताको संघर्षबाट ज्ञान लिएर, अवसरवादी नेताहरुको बर्हिगमन गर्दै आशावादी युवाहरुलाई विचारको पक्षमा गोलबन्द गर्नैपर्छ । विज्ञान, प्रविधिको उच्चतम प्रयोग र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको निर्माण आजको अनिवार्य शर्त हो ।

निरासारुपी भावनाहरु त्याग्दै, आशारुपी आदर्शहरुमा मात्र होइन्, विचाररुपि कर्महरुमा हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्नुको विकल्प छैन । मुलुक विचारबाटै बन्ने हो भने, विचारले नै नेतृत्व गर्नुपर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८० शुक्रबार ००:००  ८ : २६ बजे