१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादी कपिलवस्तुले थाल्यो ‘रुपान्तरण अभियान’



कपिलवस्तु ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको भेला सम्पन्न भएको छ । केन्द्रको सर्कुलर अनुसार ‘घर-घरमा माओवादी जन-जनमा माओवादी’ भन्ने नाराका साथ भेला तथा बैठक गरिएको हो ।

माओवादी विशेष रुपान्तरण अभियानका लागि पूर्व तयारी बैठकलाई संम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज महेश्वर गहतराज (अथक) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पुर्‍याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानका गर्न लागिएको बताए । उनले पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता, नेतृत्वले अभियान अन्तर्गत वडा, वडाबाट माओवादी विशेष रुपान्तरणका कार्यहरु थालनी भएको बताए ।

अथकले भने “माओवादी पार्टी आफ्नै कारणले अलि डगमगाएको अवस्थामा अभियानले थप मजबुत भएर आउने कुरामा विश्वस्त छु ।” समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठूलो योगदान रहेको उनले बताए । अथकले माओवादी कमजोर भएमा संघीयता कमजोर हुने, गणतन्त्र कमजोर हुने, समावेशी समानुपातिक प्रतिनिधित्व कमजोर हुने जिकिर गरे ।

त्यस्तै लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदर्शन बरालले जनयुद्धको प्रक्रिया सुरु भईसके पछिको माओवादीको आधार स्तम्भ कपिलवस्तु भएकाले यहाँका हरेक संघ संगठनमा माओवादी मजवुत हुनुपर्ने बताए । उनले कपिलवस्तुको ऐतिहासिक विरासतलाई हेर्दै जिल्लामा फेरि माओवादीलाई पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । उनले भने विरासत कायम गर्न कपिलवस्तुमा सम्भव छ, सबै नेता कार्यकर्ताहरु केन्द्रको सर्कुलर अनुसार घर घरमा माओवादी जन जनमा माओवादी विशेष रुपान्तरण अभियानमा तदारुकताका साथ लाग्न आग्रह गरे ।

कपिलवस्तु नगरपालिकाको सभाहलमा समपन्न कार्यक्रममा नेता भिमकुमारी बुढा मगर, जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक विष्णु बेल्वासे लगाएतले बोल्दै पार्टीको अभियानमा आफूहरुले कुनै कसुर बाँकी नराखि कुरामा भन्दा काममा लागि पर्ने बताए ।

कार्यक्रममा कपिलवस्तुका १० वटै पालिकाका इन्चार्जहरुले आ–आफ्नो पालिकाको अवस्थाको रिर्पोटिङ्ग गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, जिल्ला नेता तथा कार्यकर्ता, नगर इन्चार्ज तथा नगर समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ८ : ३७ बजे