१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादीले कम्तीमा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने



काठमाडौं ।
जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रममा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने नेकपा माओवादीले जनाएको छ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित शनिबारदेखि सुरू हुने अभियानमा माओवादीका अध्यक्षदेखि साधारण सदस्यसम्म जनताको घर दैलोमा खटिनेछन्।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने बताए।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले २८ लाख मत पाएको थियो। तिनै मतदाताहरूलाई लक्षित गरेर अभियानमा खटिने माओवादीले जनाएको छ।

यस्तै, अभियानमा माओवादी नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा एकरएक वटा उत्पादन र उद्धमसँग सम्बन्धित कार्यक्रम पनि सञ्चालन गर्नेछन्।

तीन चरणमा सञ्चालन हुने अभियानमा बैठक,भेला, प्रशिक्षण, तालिम तथा जनप्रदर्शन र जनसंघर्षका कार्यक्रमहरू हुने प्रवक्ता सापकोटाले बताए।

माओवादी केन्द्रको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर १६ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

शान्ति प्रक्रियामा आइसकेपछि जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्न अभियानमा जान लागिएको सापकोटाले बताए।

उनले यसपटक जनताको कुरा सुनेर आउने र त्यही अनुसार पार्टीको आगामी रणनीति तय गर्ने जानकारी पनि दिए।

‘जनताले दिएको सुझावअनुसार नै हामीले मंसिरमा हुने विधान सम्मेलनमार्फत् पार्टीको आगामी कार्ययोजना तयार पार्नेछौं,’ प्रवक्ता सापकोटाले भने,‘यो हाम्रा लागि अन्तिम मौका पनि हो।’

प्रकाशित मिति : १५ भाद्र २०८० शुक्रबार ००:००  ३ : ५४ बजे