१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हाम्रो स्वाभिमान र स्वाधिनताको विषयमा छिमेकीले चिन्ता गर्नुपर्दैन : ओली



बुटवल ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्नु नपर्ने बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा उनले देशको स्वाभिमान र स्वाधीनता आफैं माथि उठाउने भन्दै छिमेकीले पिर गर्नु नपर्ने बताएका हुन् ।

हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नो राष्ट्रको, स्वाभिमान उहाँहरुलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ । आफ्नी आमा आफूलाई प्यारो लाग्छ । आफ्नी आमाको सम्मान आफूलाई गर्न मन लाग्छ । तपाईहरु हामी छिमेकी मित्र आफ्नी आमालाई सम्मान गर्नुहुन्छ भने हामी पनि हाम्री आमालाई सम्मान गर्छौ’ उनले भने ।

एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देशलाई सममान गर्छौ । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव गर्नुुहुन्छ, हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’

प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताए । ‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस र नेतृत्वबारे सहमति गर्नुस’ ओलीले निर्देशन दिए ।

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल आकांक्षी छन् ।  कँडेल वर्तमान अध्यक्षसमेत हुन् । अधिबेशनको बन्द शत्र शनिबार र आइतबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १७ भाद्र २०८० आइतबार ००:००  ११ : २० बजे