११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

चारनम्बर जीतपुरबाट रोयल स्टार एसी बस सेवा सुचारु



मायादेवी अनलाइन, बाणगंगा ।

पछिल्लो समय नेपालमा यातायात क्षेत्रमा उच्च स्तरीय बसहरु संचालनमा आएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले नेपाल अधिराज्य भर आफनो यातायात सेवा संचालन र विस्तार गर्दै आइरहेको छ ।

बिगतमा कपिलवस्तुका विभिन्न स्थानबाट नयाँ र गुणस्तरीय बसहरु संचालन गरिरहेको प्रालिले कपिलवस्तुको चारनम्बर जीतपुरलाई मुख्य केन्द्र बनाएको छ । रोयल स्टार एसी नामबाट कपिलवस्तुको चारनम्बर जीतपुरबाट दैनिक काठमाण्डौंका लागि रात्री बस सेवा शुभारम्भ गरेको हो । बुधबार एक समारोहका बीच उक्त बसको सेवा शुभारम्भ वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले गर्नु भएको छ ।

आर्थिक मन्दीका कारण यातायात व्यवसाय मारमा परिरहेको बेला स्वदेशमै केही गर्छु भन्ने युवाहरुलाई सवैले साथ दिनुपर्ने नगर प्रमुख अर्यालले बताउनुभयो । विभिन्न ठाउँबाट छुटेका बसबाट सेवा लिइरहेका वाणगंगा वासीले अव यहीबाट छुट्ने भएपछि यात्राका लागि नगरवासीलाई धेरै सहज हुने भन्दै व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बस सेवा शुभारम्भ कार्यक्रममा बाणगंगा ५ का वडा अध्यक्ष दुनिका भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय परिषद सदस्य उमानाथ पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका बाणगंगाका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई लगाएतले अधिक्तम सुविधा दिएर यात्रुहरुको मन जित्न आग्रह गरेका छन् ।

उनीहरुले यहाँबाट छुट्ने बसलाई उच्च प्राथमिकता दिएर व्यवसायीको मनोबल बढाईदिनुपर्ने बताएका छन् । एसी बसहरुले सधै एकनासको सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

चारनम्बरबाट दैनिक साँझ ७ः४५ बजे र काठमाण्डौबाट ८ः३० बजे रोयल स्टार एसी बस छुट्ने समितिले जनाएको छ । वसमा एयर सस्पेन्सन, एसी, हिटर, सोफासेट, मोबाइल चार्जर, मिनरल वाटर, सनरुफ लगाएतका सेवा सुविधा छन् ।

कार्यक्रम बुटवल अर्घाखाँची रुट संयोजक रामलाल खनालको अध्यक्षता तथा प्रालिका चारनम्बर शाखाका कर्मचारी नारायण भट्टराइको संचालन सम्पन्न कार्यक्रममा गाडीधनी तुलसी प्रसाद न्यौपानेले स्वागत गर्नुभएको थियो । हाल ३ वटा रोयल स्टार बस संचालनमा आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८० बुधबार ००:००  ७ : १६ बजे