१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको ज्यान गयो, २९ जना घाइते



बर्दिया ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका-८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ६ : ५२ बजे